सांसद भट्टचनद्वारा बाग्लुङका विस्थापितको घरबासका लागि रकम उपलब्ध गराउन माग
काठमाडौं । एमालेका सांसद देवीप्रकाश भट्टचनले बाग्लुङ जिल्लामा अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे सरकारलाई जानकारी गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भट्टचनले बाढी र पहिरोका कारण विस्थापित भएका परिवारलाई घर निर्माणका लागि रकम उपलब्ध गराइदिन माग गरे । उनले घाइतेहरूको उपचार र बेपत्ताको खोजीका लागि पनि माग गरेका छन् ।
उनले भने, ‘अविरल वर्षाका कारण बाग्लुङ जिल्लाको बडीगाड गाउँपालिकाको वडा नं. ९ र १० मा मात्रै १२५ जना विस्थापित भएका छन् ।’
‘स्थानीय सरकारको समन्वयमा राहतको कार्य जारी छ । पहिरोमा परी हालसम्म ११ जनाको मृत्यु भएको छभने १ जनाको अवस्था अज्ञात छ’, उनले भने ।
‘बिरामीको उपचार र बेपत्ता भएकाहरूको खोजी तथा विस्थापित ३५ घरपरिवारको घरबासको लागि रकम उपलब्ध गराउन सरकारसँग अनुरोध छ’, सांसद भट्टचनले भने ।
एमालेका सांसद भट्टचनले मुस्ताङ जिल्लाका केही स्थानमा प्रतिबन्धित क्षेत्र खुला गर्ने प्रक्रिया शुरु भएको भन्दै गृह मन्त्रालयलाई छिटो काम गर्न आग्रह गरे ।
‘मुस्ताङ जिल्लाको बाराङगुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. ३ सुशाङ अन्तर्गतका सम्पूर्ण भू–भागहरू र वडा नं. ५ का शाङ्का गाउँहरूलाई गृह मन्त्रालयबाट ०७६/०३/३० को राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित क्षेत्रको रुपमा प्रकाशित गरिएको र स्थानीयको माग बमोजिम बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कार्यालय तथा अन्य सम्बन्धित निकायहरूबाट वडा नं. ३ र ५ लाई सम्बन्धित क्षेत्रमा फुकुवा गरी, खुला क्षेत्र गर्नको लागि सिफारिस समेत भइसकेको हुँदा गृह मन्त्रालयबाट छिटो छरितो फुकुवाको प्रक्रिया अगाडि बढाइदिन ध्यानाकर्षण गराउँद छु ।’
सांसद भट्टचनले कोराला सिमानामा नेपालतर्फ भौतिक संरचना शून्य भएको हुँदा भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारीका लागि भौतिक संरचना बनाउन माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया