मेरो म्याण्डेट कुनै कुरालाई टुङ्गोमा लगाउने छैन, प्रधानमन्त्रीस्तरमा वार्तामा हुन्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको निम्तोलाई सकारात्मक रुपमा लिएको बताएकी छिन् ।

भारतको औचापरिक भ्रमण सकेर बिहीबार स्वदेश फिर्ता भएकी मन्त्री डा.राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मोदीले छिट्टै नेपाल भ्रमण गर्ने आश्वासन दिएको बताइन् । उनले भनिन्, ‘ओलीजीको निमन्त्रणालाई पनि पोजेटिभली लिनुभयो । समय मिलाएर गरौँला भन्नुभएको छ ।’

मन्त्री डा.राणाले भनिन्, ‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहि आएको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन योगदान गरेको मैले विश्वास लिएको छु ।’

‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवम् विभिन्न तहमा सम्पर्क स्थापना गर्न दुई पक्षीय संयन्त्रहरूका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य गरी सहकार्य प्रबर्द्धन गर्न मार्ग निर्देशन समेत गरेको छ’, उनले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्य तथा न्यानो स्वागतका लागि भारतका महामहिम विदेशमन्त्री, भारत सरकार, सम्बन्धित पदाधिकारीहरूप्रति हार्दिक धन्यावाद ज्ञापन गर्दछु ।’

‘म नेपालको विदेशमन्त्री भएर जाँदा उहाँहरूले गर्नुभएको जुन एउटा स्वागत थियो । त्यो स्वागत हामी सबै नेपालीको हो’, डा.राणाले भनिन्, ‘म नेपालको प्रतिनिधि भएको कारणले उहाँहरूले स्वागत गर्नुभएको हो । भारतले नेपाललाई उच्च सम्मानका साथ नजिकको छिमेकीको साथ लिँदो रहेछ भन्ने त्यो मलाई आभास भएको छ ।’

उनले भनिन्, ‘ब्रेक थ्रुका कुराहरू जुनजुन विषयहरू छन् ती विषयमा हामीहरूले यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरा भएको छ । यसका बारेमा सरकारी संयन्त्रहरू छ । दुबै सचिव लेबलमा, सहसचिव लेबलमा त्यो वार्ताहरू क्रमशः बढ्दै जान्छ त्यसको नतिजा नेपाल र भारत दुबैलाई फलदायक हुन्छ भन्ने मलाई लागेको छ । म परराष्ट्र मन्त्री, मेरो म्याण्डेट कुनै कुरालाई टुङ्गोमा लगाउने छैन । त्यो प्रधानमन्त्रीस्तरीय वार्तामा कुराहरू हुन्छ होला ।’

‘हाम्रो मुख्य विषयहरू छन् । जुन दक्षिणतिर बाढीको कुराहरू, नेश्नल एयरवेजको कुराहरू, पञ्चेश्वर प्रोजेक्टको कुराहरू । मोदीजीसँग पनि त्यही कुराहरू गरियो’, उनले भनिन्, ‘मोदीजीले पनि किनै ध्यान दिएर सुन्नुभयो । उहाँले नेपाललाई निकै माया गर्नु हुँदो रहेछ । आफ्नो संयन्त्रलाई पनि यो यो गर्नुहोला भन्नुभयो । ओलीजीको निमन्त्रणालाई पनि पोजेटिभली लिनुभयो । समय मिलाएर गरौँला भन्नुभएको छ ।’

उनले भनिन्, ‘भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीमा मैले शिष्टाचार भेट गर्ने अवसर पाएको थिएँ । सो अवसरमा नेपाल र भारतबीच रहि आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य गर्ने विषयमा बिचार आदान प्रदान भएको थियो । भेटका बखत प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ज्यूलाई व्यक्त गर्नुभएको न्यानो अभिभावदन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रुपले मैले हस्तान्तरण गरेको थिएँ ।’

‘यसअघि सोहि दिन नयाँ दिल्ली हैदराबाद हाउसमा भारतका विदेशमन्त्री डा.एस.जयशंकर र मेरोबीच दुई पक्षीय भेटघाट भएको थियो’, उनले भनिन् ।

‘सो अवसरमा व्यापार तथा पारवहान, उर्जा, कनेक्टीभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउदेश्यीय आयोजना, खेलकुद, सीमाको पूर्वाधार लगायत नेपाल–भारत सम्बन्ध समग्र पक्षमा छलफल भएको थियो’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

‘यसका अलावा दुई पक्षीय संयन्त्रका माध्यमबाट दुबै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा पनि सहमति भएको छ’, उनले भनिन् ।

‘विदेशमन्त्री डा.एस.जयशंकरले सोहि स्थानमा मेरो सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा पनि म सहभागी भएँ’, उनले भनिन् ।

‘दुबै अवसरमा मेरो साथमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत डा.सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयको दक्षिण एशिया मामिला शाखाका सहसचिव भृगु ढुङ्गाना तथा नेपाली राजदूतावासका मिनिस्टर काउन्सुलर द्रुपदा सापकोटाको पनि सहभागिता थियो’, मन्त्री डा.राणाले भनिन् ।

‘नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा पनि म दिवा भोजमा पनि सरिक भएर दूतावासमा भएका मित्रहरूसँग भेटघाट भएको थियो’, उनले आफ्नो भ्रमणका बेला भएका सबै कार्यक्रमबारे जानकारी गराइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.राणाको स्वागतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका तरुणहरू पुगेका थिए ।

Published : Thursday, 2024 August 22, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया