राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा लेखकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको बताए ।

‘समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्‍यो’, उनले भने, ‘मुलुकको आर्थिक विकास र सुशासनको क्षेत्रमा विधिको शासनलाई अगाडि बढाउन समस्या देखियो ।’

लेखकले भने, ‘राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो । त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो ।’

लेखकले शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको बताए ।

गृहमन्त्री लेखकले संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।

यसैबीच, लेखकले तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गरिने बताएका छन् । उनले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न अबको तीन, चार महिनाभित्रमै तिङ्करमा अध्यागमन कार्यालय स्थापना गरिने बताए ।

महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अघि बढाएर भारत र चीनसँग पनि जोडिने उनले बताए ।

‘तीन, चार महिनामा तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरेर तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु’, गृहमन्त्री लेखकले भने ।

‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ, यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्नेछ’, लेखकले भनेका छन् ।

Published : Monday, 2024 August 19, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया