सशस्त्र प्रहरीमा दुई एआईजीपीको दरबन्दी थप गर्न सुझाव

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)मा २ अतिरिक्त महानिरीक्षक (एआईजीपी)को दरबन्दी थप्न गर्न कार्यदलले सुझाव दिएको छ ।

सरकारद्वारा गठित अध्ययन कार्यदलले २ जना एआईजीपी पद थप गर्न सुझाव दिएको हो । कार्यदलले सशस्त्र प्रहरीमा मानवस्रोत तथा प्रशासन विभागलाई अलग गरी छुट्टै प्रशासन विभाग बनाउन र त्यसका लागि नेतृत्वमा एआईजीपी राख्न प्रस्ताव गरेको छ ।

मानव स्रोत र प्रशासनसम्बन्धी काम एउटै विभागबाट हुँदै आएको छ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा पनि एआईजीको दरबन्दी कायम गर्नुपर्ने कार्यदलको सुझाव छ ।

सशस्त्रमा हाल एआईजीको संख्या तीन छ । कार्य विभाग, सीमा विभाग र मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व उनीहरूले गर्दै आएका छन् ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १६ मा गृह मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत प्रहरी कर्मचारीहरूको सेवानिवृत्त हुने उमेर, अवधि र पदावधि पुनरावलोकनसम्बन्धी अध्ययन गर्न नेपाल प्रहरीका डीआईजी राजन अधिकारी, सशस्त्रका डीआईजी दीपेन्द्र शाह, नेपाल प्रहरीका पूर्वडीआईजी पुरुषोत्तम कँडेल, अर्थ मन्त्रालयका उपसचिव जगदीश्वर उपाध्याय, गृह मन्त्रालयको फैसला कार्यान्वयन शाखाका उपसचिव ऋषि पौडेल सदस्य तथा गृह मन्त्रालयका प्रहरी कर्मचारी शाखाका उपसचिव कृष्ण गैह्रे सम्मिलित सात सदस्यीय कार्यदल गठन गरेका थिए ।

सोही कार्यदलले हालै गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदनमा सशस्त्रमा मानवस्रोतबाट प्रशासनलाई अलग गरी विभाग बनाउन र त्यसमा एआईजीपी खटाउन तथा प्रतिष्ठानमा साबिकमा रहेको एआइजीपीकै पद कायम गर्न सुझाव दिएको छ ।

Published : Tuesday, 2024 August 13, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया