सुनकाण्डमा संलग्न देखिएका माओवादी नेताहरूलाई दिइएको उन्मुक्ति उल्टिएला ?

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले शुक्रबार सांसदमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवार सुनकाण्डमा मुछिएका प्रमाण बाहिर आए पनि कारबाही नभएको प्रशङ्ग निकालेका थिए । दुनियाँलाई देखाउन पक्राउ गरिए पनि कागजात मिलाएर छोडिएको भनाइ शाहीको थियो ।
हुन पनि २०७९ को निर्वाचनपछि एमाले र कांग्रेसलाई धोका दिँदै १८ महिनासम्म सरकारमा बसेको माओवादीले आफ्ना नेताका कर्तुत लुकाउन भरमग्दुर प्रयास गरेको देखिन्छ । माओवादीका शीर्ष तहका नेताहरू अन्तर्देशीय सुन तस्करीमा जोडिएका प्रमाणित घटना बाहिर आएका थिए ।
अनुसन्धानको दायित्व पाएका सरकारी अंगले माओवादी र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को दबाबमा माओवादी नेताहरूलाई उन्मुक्ति दिए ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र माओवादी उप–महासचिव वर्षमान पुन र माओवादीको राजनीति गरेर माओवादीबाटै उम्मेदवार बनेर उपराष्ट्रपति बनेका नन्दकिशोर पुनको परिवार गम्भीर अन्तर्देशीय सुन तस्करी काण्डमा जोडिए ।

सय किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङसँग पुनको पारिवारिक सम्बन्ध देखिएको छ । पुनले दावाको श्रीमतीसँग पारिवारिक सम्बन्ध रहेको स्वीकार सार्वजनिक रूपमै स्वीकारेका थिए । सुन तस्करीमा पुनको संलग्नताबारे प्रहरीले अनुसन्धान नै गरेन । पुन उनकी श्रीमती माओवादी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले दावा र दावाकी श्रीमती अमला रोकाले सँगै खाना खाएको तस्बिर समेत सार्वजनिक भएको थियो ।
पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा शंकास्पद सम्पर्क जालोका कारण सुन तस्करीमा जोडिए । बाबुछोरा इलेक्ट्रिक चुरोट ‘भेप’को आवरणमा तस्करी भएको ९ किलो सुनको घटनामा प्रत्यक्ष जोडिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को अनुसन्धानमा उनीहरूको संलग्नता रहेको प्रमाण जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंमा पनि पेस गरिएको थियो ।
२०७९ पुस १० गते फ्लाइ दुबईको उडानबाट नेपाल भित्र्याएको ७ सय ३० वटा भेप भन्सारले छानबिन गर्दा भेपभित्र सुन रहेको भेटियो । असार २८ गते जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रसँगै सरकारी वकिल कार्यालयमा पुगेको मिसिलमा घटनामा जोडिएका ३२ जनाको सम्पर्क जालोमा महराका बाबुछोरा सुन ल्याउने सात जनाको समूहमा परेको उल्लेख छ ।
महरा बाबु–छोराले सुन तस्करी गर्ने चिनियाँ नागरिकसँग बाक्लो फोन सम्पर्क र भन्सारका कर्मचारीसँग सम्बन्ध राखेको सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको थियो । प्रहरी अनुसन्धानमा सुन तस्करीका मुख्य नाइके चिनियाँसँग बाबुछोराकै बाक्लो सम्पर्क अनि छोरा राहुलले भेपको लिलामी प्रक्रियाबारे भन्सारका अधिकारीसँग जानकारी लिएको प्रमाण नै पेस गरेको छ ।

तर, उनीहरूलाई सीआईबीले सामान्य सोधपुछ समेत नगरी त्यतिकै उन्मुक्ति दिएको थियो । सीआईबीले अनुसन्धानको मिसिलमा सबै सम्पर्क जालो खुलाउने तर, उनीहरूलाई अनुसन्धानको सामान्य प्रक्रियामा समेत नजोड्ने घटनाक्रमले सीआईबीमाथि महरा बाबुछोरामाथि अनुसन्धान नगर्न दबाब परेको प्रष्ट देखिन्छ । त्यसबेला गृहमन्त्री माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए ।
माओवादी नेताहरूलाई अनुसन्धानबाट उन्मुक्ति दिएपछि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा अवरोध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग बनायो । त्यसपछि गठबन्धन फेरिएर गृहमन्त्रीमा रवि लामिछाने आए । आयोगले प्रतिवेदन बुझायो । छानबिन प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस भएपछि चैत ५ गते प्रहरीले महरालाई पक्राउ गरे पनि ५ दिनमै हाजिरी जवानीमा छोडिएको थियो । स्वास्थ्यको कारण देखाएर छोडिए पनि बोलाएको बेलामा अनुसन्धानमा सहयोग गर्न उपस्थित हुनेगरी कागज गरिएको छ ।

महराका छोरा राहुल भनिने निर्मला महरालाई १३ भदौ २०८० मा पक्राउ गरेको छ । उनी भने अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।
दावासँग माओवादीका पूर्वकमाण्डर तथा तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको परिवारसँग पनि बाक्लो उठबस र पारिवारिक सम्बन्ध नै देखिएको थियो । पुनका दुवै छोरा अनि बुहारीको दावासँग घनिष्ठ सम्बन्ध देखिएका प्रमाण अनुसन्धानका क्रममा भेटिएका छन् । यो काण्डमा पुनका छोरा तथा माओवादीको विद्यार्थी सँगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन र सल्लाहकार जीवन गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनीहरूलाई तत्कालीन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनको दबाबमा छोडिएको छ ।
सय किलो सुन तस्करीको अनुसन्धान निवर्तमान प्रधानमन्त्री दाहालका अति निकट राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुङ्गानाले गर्दा माओवादी नेताहरूलाई बचाएका थिए ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया