गृहमन्त्री लामिछानेले जीबी राईलाई ल्याउन नसकेका बेला अर्को ठूलो माछा पनि भागे

काठमाडौं । १४ किलो सुनका तस्करीका आरोपी मोस्ट वान्टेडको सूचीमा रहेका जीवन गुरुङ फरार भएपछि सुरक्षा निकायमाथि प्रश्न उठेको छ ।

जिल्ला अदालतबाट धरौटीमा छुटेका गुरुङ पुनः पक्राउ भएपछि फरार भएको स्रोतले जनाएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार गुरुङले नेपाल छाडेर भागका हुन् ।

फागुन १३ गते खुसिबुबाट पक्राउ परेका गुरुङलाई अदालतले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रहरीको आँखा छलेर गुरुङ फरार भएपछि गृहमन्त्री रवि लामिछाने नेतृत्वको गृह प्रशासन र सुरक्षा निकायमाथि प्रश्न उठेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले ६० किलो सुन तस्करीमा दोस्रो चरणको अनुसन्धान सुरु गरेलगत्तै गुरुङ फरार भएको स्रोतले जनाएको छ । ६० किलो सुन तस्करी प्रकरणमा गुरुङ पक्राउ पर्ने सम्भावना थियो । प्रहरीको निगरानीमा हुँदाहुँदै गुरुङ भारततिर फरार भएका छन् । गुरुङ भारतबाट पनि अर्को मुलुकतिर उडेको चर्चा छ ।

सुन तस्करीमा भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर गुरुङले काम गर्दै आएका थिए ।

सहकारी ठगीको आरोप खेप्दै आएका गृहमन्त्री लामिछानेले मलेशियामा रहेका गितेन्द्रबाबु राई (जीबी राई)लाई पक्राउ गरेर ल्याउन सकेका छैनन् । सुन तस्करीमा उच्च निगरानीमा रहेका गुरुङ पनि गृह प्रशासन र सुरक्षा निकायलाई छलेर भागेपछि लामिछानेको नेतृत्वमाथि प्रश्न उठेको छ ।

Published : Wednesday, 2024 July 10, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया