कांग्रेसले दियो प्रचण्डलाई संवैधानिक अवसर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएअनुसार कार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै लेखकले ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपनि आपत्ति नहुने बताए । उनले सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सरकारले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट कति जनधनको क्षति भएको हो भन्ने कुराको यकीन जानकारीका साथै उद्धार र राहतमा के काम भइरहेको छभन्ने कुराको जानकारी गराउनुपर्ने उनले माग गरेका छन् ।

लेखकले भने, ‘सरकार विश्वासको मत लिने तयारी गरिराख्या छ । संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठ्या छ, त्यसमा केही द्विधा छैन ।’

‘सरकारले पूरै ३० दिन लेओस् । हिजो २८ गते त थोरै मात्र हुन्छ २१ दिन थप्न सकिन्छ पनि भन्नुभयो, त्यो पनि थप्दा हुन्छ । आपत्ति छैन’, लेखकले भने ।

‘सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्‍यो’, उनले भने, ‘भनिदिनुप¥यो कति मानिसहरूको मृत्यु भएको हो ? कति घाइते भएका छन् ? कतिको उपचार भइरहेको छ ?’

कांग्रेसका सांसद लेखकले सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने बताए ।

मुलुकमा प्राकृतिक प्रकोपको कारणले भएका क्षतिको जानकारी पत्रपत्रिकामा प्रकाशित तथ्यांक पढेर जानकारी पाउनुपर्ने बाध्यता रहेको लेखकले बताएका छन् ।

Published : Tuesday, 2024 July 9, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया