पत्र दर्ता गराएर एमालेले प्रचण्डलाई थप दवाव दियो, आइतबार राजीनामा आउन सक्ने

काठमाडौं । प्रतिनिधि सभालाई एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

एमालेले शुक्रबार संसद सचिवालयलाई पत्र पठाएर दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो । प्रमुख सचेतक महेशकुमार बर्तौलाले पत्र संसद सचिवालयमा दर्ता गराएका छन् ।

एमालेले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेले संसदमा प्रतिपक्षमा बस्ने जनाएको छ । त्यसका लागि व्यवस्था गर्न एमालेले माग गरेको छ ।

नेपाली कांग्रेससँग मिलेर एमालेले राष्ट्रिय सहमतिको सरकार गठन गर्न लागेको छ । एमालेले प्रधानमन्त्री दाहाललाई राजीनाका लागि दवाव दिइरहेको छ ।

कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर राजनीतिक सहमतिको सरकार बनाउन मार्गप्रसस्त गर्न आग्रह गर्दै आएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ । आइतबार प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिन सक्ने चर्चा पनि छ ।

हुन त प्रधानमन्त्री दाहालले संविधानमा व्यवस्था भएअनुसार ३० दिनभित्र विश्वासको मत लिने गरेर तयारी गरेको चर्चा पनि भएका छन् ।

Published : Friday, 2024 July 5, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया