आयुक्तको घरको पर्खाल भत्काइदिएको झोँकमा अख्तियारले मेयर महर्जनलाई पत्र काट्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको झोँकमा अख्तियारले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकाले बुधबार अख्तियारकी आयुक्त डा.अमात्यको घरको पर्खालमा डोजर चलाएर भत्काएको थियो । अख्तियारका अनुसन्धान अधिकृत गणेशप्रसाद घिमिरेले बुधबार नै मेयर महर्जनलाई भ्रष्टाचार गरेको भन्दै पुरानो उजुरीमा बयान दिन बोलाएका छन् ।

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे १ लाख र साढे २ लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको झोँकमा बदला लिन डा.अमात्यले पदको दुरुपयोग गरि मेयर महर्जनलाई बयानका लागि पत्र काटेको आरोप लागेको छ ।

डा.अमात्यले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातमा उल्लेख छ ।

घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ ।

ललितपुर महानगरपालिका–१० को तःननी गुठीका गुठियार सुरेशमान महर्जनले त्यो जग्गा गुठीको नाममा रहेकाले गुठीयारहरूले संरचना हटाइदिन आग्रह गरेको बताए ।

Published : Thursday, 2024 July 4, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया