प्रचण्डलाई बालुवाटार र सिंहदरबारबाट डेरा सार्न गगनको सुझाव, मन्त्रीहरूले प्रधानमन्त्रीलाई टेर्नै छाडे

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नटेर्ने अहिलेका मन्त्रीहरू फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री समेत रहेका सांसद थापाले नटेर्ने मन्त्री फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्न उचित हुने सुझाव दिए । थापाले दाहाललाई सरकारको काम र भूमिकामा प्रश्न उठाएका हुन् ।

‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो । तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तो गरि आएको छ, मानौं यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो’, उनले भने ।

‘अहिले आएर सरकारले निर्णय ग¥यो भन्ने सुनियो’, थापाले भने, ‘अनुदान ७ प्रतिशत घटाउने भन्ने पनि सुनियो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ? अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो स्वीकार्न सकिँदैन, यो निर्णय असंवैधानिक पनि छ ।’

स्थानीय सरकारका प्रमुखहरूले अनुदान सय प्रतिशत नै चाहिने कुरा राख्दा प्रधानमन्त्रीले आफूले त मन गरेको तर, मन्त्रीले मानेनन् भनेको कुरा सांसद थापाले बताएका छन् ।

उनले नटेर्ने मन्त्रीहरू फेर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो त संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने’, थापाले भने, ‘फेर्न नसक्ने हो भने बालुवाटारबाट आफैँ डेरा सर्ने ।’

Published : Sunday, 2024 June 23, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया