लामो समय भयो कर्मचारीहरूको तलब, भत्ता नबढेको, बढाउनुपर्छ : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजङ्ग बस्नेतले सम्पूर्ण कर्मचारीहरूको तलब, भत्ता बढाउन माग गरेका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले सबै प्रकारका कर्मचारीहरूलाई तलब, भत्ताले खान नपुग्ने बताए ।

उनले भने, ‘बजेटले कर्मचारीको तलब, भत्ता नबढाएको धेरै वर्ष भयो । सम्पूर्ण कर्मचारी, निजामती कर्मचारी, शिक्षक, प्रहरी, जति पनि कर्मचारी ती सम्पूर्णको तलब, भत्ता बढोस् ।’

‘नेपालमा बसेर खान गाह्रो भयो । त्यो थोरै तलबले कर्मचारी टिक्न पनि टिक्दैन । कोही पनि टिक्न सक्ने अवस्था छैन’, सांसद बस्नेतले भने ।

‘भ्रष्टाचार बढेको बढै छ । कालोबजारी बढेको बढै छ । हामी कालोबजारी पनि रोक्न नसक्ने । भ्रष्टाचार पनि रोक्न नसक्ने । अनि त्यहि तलबले कर्मचारी बाँच्नुपर्छ भन्ने कुरा गलत हो’, उनले भने, ‘कर्मचारीको तलब बढाउन नितान्तर आवश्यक भएको छ ।’

उनले भने, ‘संघीय संसदका कर्मचारीले केही माग राखेर आन्दोलन गर्नुभयो । ती जायज मागको विषयमा आज कानूनमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय समिति पनि बनेको छ ।’ कांग्रेसका सांसद बस्नेतले कर्मचारीहरूका माग जायज पनि रहेको बताए ।

Published : Sunday, 2024 June 23, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया