ओलीद्वारा बजेटको धुँवाधार विरोध, प्रचण्ड सरकारलाई एमालेले तनाब बढाइदियो

काठमाडौं । बजेटको बचाउ गरेर सरकारलाई सहयोग गर्नुपर्ने बेला एमालेका अध्यक्ष केपी ओलीले बजेटको विरोध गरेका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले १/२ जनाको मुख हेरेर बजेट ल्याइएको बताए । उनले एमालेले सम्हालेका मन्त्रालयको विनियोजन भएको बजेट पनि हेर्नुपर्ने बताएका छन् ।

सत्तारुढ दल अर्थात् सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीले बजेटमाथि असन्तुष्टि जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाब बढाइदिएको छ ।

ओलीले भने, ‘बजेटको सन्दर्भमा भएको कति ठीक कति बेठीक ? अलिक छलफल गर्नुपर्ने हुन्छ । १/२ जनाको मुख हेरेर अनि हामी सरकारमा छौँ भनेर गरिबीतिर गएपनि के भो र देश हामी सरकारमा छदै छौँ भनेर हुन्छ ?’

‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हामी सरकारमा गएको हो’, ओलीले भने ।

‘त्यहि चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? हाम्रो, हाम्रै, हामीले नै चलाइरहेका मन्त्रालयहरू प्रस्ट छैन’, उनले भने । ‘त्यसमा कस्तो छ विनियोजन त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ’, ओलीले भने ।

एमालेका सांसदहरूले बजेटको विनियोजन विधेयकमाथि छलफलमा सहभागी हुने क्रममा आलोचना र विरोध गरिरहेका ओलीले नै बजेटमाथि असन्तुष्टि जनाएर विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि बजेटको विरोध गरिरहेका छन् । उनीहरूले पनि १/२ जना शीर्ष नेताको जिल्ला र क्षेत्र केन्द्रित बजेट आएको आरोप लगाउँदै आएका छन् ।

Published : Saturday, 2024 June 15, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया