फोरजीमा १९ अर्ब र गिरिबन्धु टि इस्टेट घोटाला उठेका बेला ओलीले भने- ५ अर्ब खायो भनेका छन्

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफूलाई लागेको पाँच अर्ब खाएको आरोपको खण्डन गरेका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादीहरूले आफूविरुद्ध ४ देखि ५ अर्ब खाएको भनेर आरोप लगाएको बताए ।

ओलीले भने, ‘आज बिहान पनि मैले यसो एउटा मिडियामा देखेको थिएँ । पाँच अर्ब । पाँच अर्ब केपी ओलीले खाइसक्यो । निलिसक्यो की । मुखमा मात्रै हाल्या छ की । मुखमा हाल्न ठीक्क पार्‍या छ । पाँच अर्ब जति, चार अर्ब की पाँच अर्ब चाहिँ केपी ओलीले खाने भो, खायो भनेर ।’

‘यो हाम्रा विरोधीहरू, प्रतिक्रियावादी जो देश अगाडि नबाढोस् भन्ने चाहन्छन् र राष्ट्रिय शक्तिलाई कमजोर पार्न चाहन्छन् त्यसमा उनीहरूको अरु कुनै उपाय छैन’, ओलीले भने, ‘भ्रमको जालो फिजाउने, अनास्था कसरी घटाइदिन सकिन्छ, जनताको विश्वास कसरी कमजोर बनाउन सकिन्छ, एमालेप्रतिको विश्वास कसरी घटाउन सकिन्छ, त्यो भइरहेको छ ।’

ओलीले भने, ‘फेरि हामीले खण्डनमण्डन त गर्नुपर्ने हुन्छ नी । हाम्रो पार्टीको विरुद्ध उनीहरूको हमला अत्यन्तै तीब्र छ । नयाँ नयाँ कुरा दिनैपच्छे अकल्पनीय कुराहरू उनीहरूले आविस्कार गर्छन् र बजारमा फैलाउँछन् ।’

‘कतिपय मान्छेहरू देश बुझ्दैनन् । भात मात्रै बुझ्न । भात भए देश जेसुकै होस् भन्छन् । तिनीहरूको सोँच पु¥याउने काम पनि हाम्रो हो । देश भन्ने उनीहरूको दिमागमा राखिदिने काम हाम्रो हो’, उनले भने ।

‘स्वार्थका थैलाहरू बोकेर अनि ती स्वार्थका थैलाहरू भर्नका लागि असभ्यता, असिष्टता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरू अबलम्बन गर्ने । त्यस्ता खालका भ्रमका तुवालाहरू फैलाउने खालका विपरित क्रियाकलापहरूमा हामी लाग्दैनौँ’, ओलीले भने ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बोल्ने क्रममा गिरिबन्धु टि इस्टेटको जमीन घोटालाको छानविन माग गरिरहेका छन् । ओलीको मन्त्रिपरिषद बैठकले गिरिबन्धु टि इस्टेट जग्गालाई सट्टाभर्ना गर्न दिने निर्णय गरेको थियो । ओली सरकारको निर्णयलाई केही हप्ता अगाडि मात्रै सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

ओली प्रधानमन्त्री र गोकुल बास्कोटा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रहेका बेला फोरजीको ग्लोबल टेण्डर खारेज गरेर जीटूजी प्रक्रियामा जाने निर्णय भएको थियो । फोरजी प्रकरणमा १९ अर्ब घोटाला भएको संसदमै कुरा उठेको छ ।

आफूविरुद्ध अर्बौंका घोटालाका आरोपहरू लागेपछि एमालेका अध्यक्ष ओलीले खण्डन गर्दै आएका छन् । उनले आफूलाई आरोप लगाउनेहरू प्रतिक्रियावादी रहेको भन्दै चोखो रहेको दाबी गरेका छन् ।

Published : Saturday, 2024 June 15, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया