गृहमन्त्री लामिछानेले गगनविरुद्ध दिएको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रचण्डको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै लेखकले गृहमन्त्री लामिछानेले कांग्रेसका सांसद गगन थापामाथि लगाएको आक्षेपका विषयमा प्रधानमन्त्री दाहालको जवाफ माग गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू सदनमा देखिइरहनु भएको छैन । के कारणले नआउनु भएको हो ? केही समय पहिला सरकारका उपप्रधानमन्त्री माननीय रवि लामिछानेजीले यो सदनमा रहेका केही नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण ढङ्गले आफ्ना अभिव्यक्तिहरू दिनुभयो ।’

‘हामीले माग गरेका छौं, सम्माननीय प्रधानमन्त्रीजीसँग उहाँले अभिव्यक्त गर्नुभएका कुराहरूका बारेमा स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर हामीले माग गरेका छौँ’, लेखकले भने ।

‘मैले के विश्वास गरौँ ? हामीले माग गरिरहेको विषयमा प्रधानमन्त्रीले तयारी गरेर बसिरहनु भएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिउँला भनेर आउनु हुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेका कारणले डराएर सदनबाट भाग्न खोज्नु भएको हो ? मैले के अनुमान गर्ने सभामुख महोदय ?’, प्रश्न गर्दै उनले भने ।

‘सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छु । के निवेदन गर्न चाहन्छु भने सभाध्यक्ष यो गरिमामय सदनको सभामुख हो । यस कारणले सभामुख भन्ने शब्द प्रयोग गरिन्छ । की सभाध्यक्षको मुखबाट अभिव्यक्त भएको विषय यो सदनको विषय हो । सदनको भावना हो’, उनले भने ।

‘जुन संसदीय भावना तोडिएको छ, मिचिएको छ र यो सदनलाई मान गर्ने स्थिति बनेको छैन । यो सदनलाई एकखालको अपमान गर्ने स्थिति सिर्जना भयो’, कांग्रेसका प्रमुख सचेतक लेखकले भने ।

गृहमन्त्री लामिछानेले केही दिन अगाडि संसदमा रोष्ट्रमबाट बोल्दै कांग्रेसका सांसद थापामाथि लक्षित गरेर अमेरिकालाई सूचना बिक्री गरेको भनेर आक्षेप लगाएका थिए । कांग्रेसले लामिछानेको यो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै छानविन वा गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गरेको छ ।

Published : Friday, 2024 June 14, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया