प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि शपथ लिएकोमा कांग्रेसले दियो मोदीलाई सदनबाट शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारतमा लोकसभा निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गरेकोमा बधाइ दिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोदीलाई बधाइ र कार्यकालको शुभकामना दिएको बताए ।

उनले भने, ‘मित्रराष्ट्र भारतमा लोकसभाको निर्वाचन सम्पन्न भएको छ । लोकसभाको निर्वाचन सम्पन्न भए लगत्तै महामहिम नरेन्द्र मोदीजी भारतको प्रधानमन्त्री बन्नुभएको छ ।’

‘हाम्रो पार्टीका आदरणीय सभापति एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय शेरबहादुर देउवाजीले महामहिम मोदीजीलाई बधाइ दिनुभएको छ ।’

‘कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ’, कांग्रेसका प्रमुख सचेतक लेखकले भनेका छन् ।

‘देशका अरु तमाम पार्टीका नेताज्यूहरूले बधाइ दिनुभएको छ । कार्यकालको सफलताको कामना गर्नुभएको छ’, उनले भने ।

‘हामी नेपाली कांग्रेस संसदीय दलको तर्फबाट भारतमा सम्पन्न भएको लोकसभाको निर्वाचन र त्यसपछि लगत्तै भारतनिमित्त तेस्रो पटक प्रधानमन्त्रीमा चयन हुनु भएका महामहिम नरेन्द्र मोदीजीलाई हार्दिक बधाइ दिन चाहन्छौँ’, लेखकले भने ।

‘उहाँको कार्यकालको पूर्ण सफलताको हामी कामना गर्न चाहन्छौँ । नेपाली कांग्रेसको तर्फबाट’, उनले भने ।

‘यसै सन्दर्भमा हाम्रा आदरणीय प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू भारत भ्रमणमा जानुभयो । भारतको लोकसभाको राम्रोसँग सम्पन्न भएको निर्वाचनलाई सम्मान व्यक्त गर्न महामहिम आदरणीय मोदीजीलाई बधाइ दिनका निमित्त शुभकामना दिनका निमित्त जानुभयो’, उनले भने ।

‘सम्माननीय प्रधानमन्त्रीजीले राम्रो काम गर्नुभयो । त्यसका लागि पनि हामी नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यावाद दिन चाहन्छौँ’, लेखकले भने ।

‘तर, म के आग्रह गर्न चाहन्छु भने मित्रराष्ट्र भारत ठूलो लोकतन्त्र भएको मुलुक हो । लोकसाभको निर्वाचन सम्पन्न भयो । खुसीको कुरा हो । महामहिम मोदीलाई बधाइ दिने, शुभकामना दिने कुरा एकदमै ठीक हो’, कांग्रेसका प्रमुख सचेतक लेखकले भने ।

Published : Friday, 2024 June 14, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया