चीनले गोरखाका २ नागरिकलाई बोलाएर डेढ महिनादेखि वेपत्ता बनायो, उद्धार गर्न सांसद बजगाइँको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले चीनले गोरखाका दुई जना नेपाली नागरिकलाई झुक्काएर बोलाएर बेपत्ता बनाएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बजगाइँले चीनको तिब्बतमा गोरखाका दुई जना नेपाली नागरिक राप्के लामा र कर्माछेदन लामा डेढ महिनादेखि अज्ञात अवस्थामा रहेको बताए । उनीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् ।

कांग्रेसका सांसद बजगाइँले भने, ‘गोरखा जिल्लाको चुननब्री गाउँपालिकाका– ७ का राप्के लामा, कर्माछेदन लामा करीव डेढ महिना पहिला चीनबाट, चीनको स्वसासित तिब्बतबाट फोन आयो । र, त्यहाँ समातिएका तिब्बतीयनहरूबाट फोन गराइरहेको रहेछ ।’

‘चीन प्रशासनले उहाँहरूलाई चीनतिर आउनलाई तिब्बततिर आउनलाई आह्वान गरियो र उहाँहरू राप्के लामा र कर्माछेदेन लामा चाहिँ चीन, तिब्बतमा जानुभयो । त्यहाँ पक्राउ परे’, उनले भने ।

‘यो हाम्रो सरकारलाई जानकारी छैन । उनीहरूको अवस्था कस्तो छ ? कुन परिस्थितिमा जीवन गुज्रीरहेको छ ? जीउँदै हुनुहुन्छ कि ? थाहा छैन । त्यसको लागि सरकारले के पहल गर्ने हो ? म परराष्ट्रमन्त्रीज्यूको ध्यानाकृष्ट गराउन चाहन्छु’, सांसद बजगाइँले भने ।

उत्तरी सिमाना जोडिएका जिल्लाहरूमा चीनले नेपाली नागरिकहरूलाई बेलाबेला दुःख दिँदै आएको छ । दुर्गम र सञ्चारको अभावका कारण चीनले उत्तरी क्षेत्रमा गरिरहेको हर्कतका विषयमा धेरै कुरा बाहिर आउन सक्दैन ।

तर, चीनको दमन र दादागिरीबाट नेपालीहरूले उत्तरी सिमाना क्षेत्रमा निकै दुःख पाइरहेको तथ्य सांसद बजगाइँले बाहिर ल्याइदिएका छन् ।

Published : Tuesday, 2024 June 11, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया