बजेटबारे के भन्छन् कांग्रेसका प्रवक्ता डा.महत ? आयात हुने फलफूल र तरकारीको भ्याट हट्यो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले ठूलो आकारको बजेट बनाउने कुरामा ब्रेक लागेपनि यो बजेट वास्तविकताभन्दा माथि रहेको बताए ।

उनले भने, ‘दशक लामो नै सुधार गर्ने भन्नु भएको छ । तर त्यो सुधार्ने कार्यक्रम छैन ।’

‘बजेट कनिका छर्ने प्रबृत्तिका छ’, उनले भने, ‘यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ ।’

‘सुधारको बाटोमा जाने भन्नुभएको छ । तर सुधार कहाँ गर्ने भन्नुभएको छैन’, डा.महतले भनेका छन् ।

पूर्वअर्थमन्त्री डा.महतले अर्को मुलुकबाट आयात हुने स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाउने कुरा ठीक नभएको बताएका छन् । विदेशबाट आयात हुने स्याउ, आलु र प्याजमा त्यसरी भ्याट हटाउँदा आन्तरिक व्यापारीलाई कुनै सहयोग नहुने उनले बताएका छन् ।

‘व्यापारीहरूको सेटिङको प्रभावमा त्यसलाई मद्दत हुनेगरी भ्याट हटाइएको छ’, डा.महतले भनेका छन् ।

‘विनियोजनमा प्राथमिकताको कुरा गर्नुभएको छैन । आफ्ना समर्थकका हकमा कता कहाँ के गर्नुभएको छ ख्याल गर्नुपर्छ’, उनले भने ।

‘धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छैन । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नु भएको छ’, डा.महतले भने ।

‘यो बजेटले जे बोलेको छ, त्यो पूरा हुन्न’, डा.महतले भने, ‘बजेटमा देखिएको बेथितीको कार्ययोजना अघि बढाउने देखिन्न ।’

उनले सरकारले बजेटको स्रोत जुटाउन नसक्दा तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याएको बताए ।

यो वर्ष सरकारले करको दायरा बढाएर राजश्वको आकार बढाउनुपर्ने भए पनि त्यसो गर्न नसक्ने देखिएपछि आन्तरिक ऋण बढाउने लक्ष्य लिइएको डा.महतले बताए ।

उनले बजेटमा सुधारका काम गर्नु भनेर धेरै भनिएको भए पनि कहाँ र कसरी सुधार गर्ने भन्ने विषयमा केही उल्लेख नभएको बताएका छन् ।

सरकारले ३ करोडभन्दा साना आयोजना संघमा नराख्ने नीतिलाई पुनः केन्द्रमा ल्याएको बताए । आफू अर्थमन्त्री हुँदा सुरु गरेको उत्पादनमा आधारित अनुदानलाई बजेटले खारेज गरेको डा.महतले बताएका छन् ।

प्रधानमन्त्री उद्यमशीलता कार्यक्रमको रूपमा आफ्ना मान्छेलाई पोस्न ७ अर्ब विनियोजन गरिएको कांग्रेसका प्रवक्ता डा.महत बताए ।

गाजाको खेती लगायत विषय राम्रै भए पनि त्यो अघिल्लो सरकारले ल्याएको कार्यक्रमकै निरन्तरता भएको उनले बताएका छन् ।

Published : Tuesday, 2024 May 28, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया