गठबन्धनले भन्यो ‘कोशी प्रदेशको महिलातर्फको परिणाम अनपेक्षित’

काठमाडौं । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को बैठक बसेर कोशी प्रदेशमा महिलातर्फकी उम्मेदवार पराजित भएकोमा चिन्ता जनाएको छ ।

बिहीबार सिंहदबारमा समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको संयोजकत्वमा बैठक बसेको हो । बैठकमा कोशी प्रदेशमा गठबन्धनकी महिलातर्फकी उम्मेदवार पराजित भएको विषयलाई अनपेक्षित भनेको छ ।

‘गठबन्धन उम्मेदवारमध्ये कोशी प्रदेशको महिलातर्फको परिणाम अनपेक्षित हुन गएको ठहर गर्दै उक्त घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको छ’, समितिका सदस्यसचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा यही २०८० माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भाग लिई गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गरी विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सम्पूर्ण मतदातालाई बैठकले धन्यवाद दिने निर्णय गरेको छ ।

निर्वाचनमा गठबन्धनतर्फका विजयी सबै उम्मेदवारहरूलाई बैठकले वधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

गठबन्धनका शीर्ष नेतृत्वबाट राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारहरूलाई विजयी गराउन समितिको अनुरोध बमोजिम संयुक्त अपील लगायत सकारात्मक भूमिका निर्वाह गर्नु भएकोमा बैठकले हार्दिक आभार व्यक्त गरेको छ ।

समितिले सम्पन्न गरेका कार्यहरु र राष्ट्रिय सभा निर्वाचन २०८० को मत परिणाम समेतको प्रतिवेदन शीर्ष नेतृत्व तहमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा समितिका सदस्यहरू वर्षमान पुन (माओवादी केन्द्र), राजेन्द्रप्रसाद पाण्डे (नेकपा एकीकृत समाजवादी) र मनीष सुमन (जनता समाजवादी पार्टी, नेपाल)को उपस्थिति रहेको थियो ।

Published : Thursday, 2024 February 8, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया