बालकुमारी घटनाको छानविन गर्न कांग्रेसको माग, दोषीलाई कारबाही गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले मृत्यु भएका दुई जनाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

‘कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कार्वाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।’

शुक्रबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन.पी. साउँद, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकूदमन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा.चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशीला थिङ, रुपा बिक, डा. जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजालले धारणा राखेका थिए ।

प्रदेश सभापतिहरु उद्धव थापा (कोशी प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश)ले पनि आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक पुस १४ गते शनिबार दिउँसो १२ः३० बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Friday, 2023 December 29, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया