रोज राणाले लिए मन्त्री पदको शपथ, को हुन् राणा ?

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सरोज थापा (रोज राणा)ले वाणिज्य तथा यातायात व्यवस्थामन्त्री शपथ लिएका छन् ।

आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मन्त्री पदका शपथ खुवाएका हुन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिस र उपस्थितिमा थापाले शपथ लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
थापा प्यूठान जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्यूठानमा ३१ वर्षपछि प्रतिस्पर्धीलाई पराजित गरेर कांग्रेसलाई जिताउन सफल भएका छन् ।

मन्त्री पदको शपथ लिएका प्रदेश सभा सदस्य थापा नेपाली चलचित्र क्षेत्रका चर्चित व्यक्ति पनि हुन् । थापा चलचित्र निर्देशक, अभिनेता र निर्माता पनि हुन् । उनले ‘टक्का दुई मुटुको’, ‘खलनायक’, ‘दादागिरी’, ‘दोस्ती’, ‘डन’, ‘म छु नी तिम्रो’, ‘मेरो पैसा खोई ?’ चलचित्र निमार्ण गरेका हुन् ।

शपथ लिएसँगै मन्त्री थापा पदभार ग्रहण गर्न लुम्बिनी प्रदेशको राजधानी देउखुरी प्रस्थान गरेका छन् ।

को हुन् सरोज थापा ?

४१ वर्ष अगाडि प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ८, गेजबाङमा जन्मिएका हुन्, सरोज थापा (रोज राणा) । बुबा स्व.खड्गबहादुर थापा र आमा मनकुमारी थापाको कोखबाट विक्रम संवत् २०३९ साल असोज २० गते जन्मिएका उनी कान्छो छोरा हुन् ।

उनका दाई स्व.सञ्जय थापा, दिदीहरु सरिता पोखरेल, सोफिया राणा, सुष्मा थापा र सीमा पाण्डे रहेका छन् । उपमा केसीसँग विवाह गरेका उनका दुई छोराहरु रेदान्स रोज थापा र रेभान्स रोज थापा रहेका छन् ।

विक्रम संवत् २०५४ सालमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ)को जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं. २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

विक्रम संवत् २०७९ सालको मंसिर ४ गते भएको निर्वाचनमा उनी प्यूठान जिल्लाको प्रदेश सभा क्षेत्र नं. २ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर अत्याधिक मतअन्तरले निर्वाचित भएका हुन् । उनले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार हरि रिजाललाई १७१२ मतको अन्तरले पराजित गरेका हुन् । ३१ वर्षपछि प्यूठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्कान उनी सफल भएका छन् । उनी युवाहरुका बीच लोकप्रिय मानिन्छन् ।

राजनीतिका साथसाथै उनले चलचित्र निर्माण पनि गरेका छन् । ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ?’ उनले निर्माण गरेका चलचित्र हुन् । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन समेत गरेका छन् । ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रमा उनी नायक बनेर अभिनय गरेका छन् ।
उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बनेका थिए । यी तीन वटै पदमा सर्वसम्मत भएका थिए ।

उनले युरोपका अधिकांश देशका साथै कोरिया, दुबई, कतार, भारत लगायतका देशको भ्रमण गरेका छन् ।

Published : Sunday, 2023 December 24, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया