लुम्बिनीमा गठबन्धन विरोधी ‘बागी’लाई मन्त्री बनाउन वर्षमानको दवाव, कांग्रेस सभापति पुनको विरोध

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले मन्त्रीका लागि प्रस्ताव गरेको व्यक्तिका कारण लुम्बिनी प्रदेशको सरकार विस्तारमा समस्या देखिएको छ ।

वर्षमानले माओवादी केन्द्रबाट बिद्रोह गरेर गठबन्धनका उम्मेदवारलाई हराएका दीपेन्द्र पुनलाई मन्त्री बनाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दवाव दिएको स्रोतले जनाएको छ ।

टिकट नपाएपछि दीपेन्द्र पुन माओवादी केन्द्रबाट बिद्रोह गरेर बागी उम्मेदवार बनेका थिए । दीपेन्द्र पुनले गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनलाई हराएका थिए । पछि दीपेन्द्र पुन माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दीपेन्द्र पुनलाई नेता वर्षमान पुनले मन्त्री बनाउन पटक पटक दवाव दिएपछि सभापति अमरसिंह पुनले असहमति प्रकट गरेका छन् । सभापति अमरसिंह पुनले बागी दीपेन्द्र पुनलाई मन्त्री बनाउने हो भने सरकार आफ्नो तरिकाले चलाउन सुझाव दिएका छन् ।

सभापति अमरसिंह पुनको अडान पनि जायज छ । गठबन्धन भनेर चुनाव लड्ने । गठबन्धनकै उम्मेदवारलाई बागीले हराउने । चुनाव जितेपछि मन्त्री बन्न माओवादीमा प्रवेश गर्ने । त्यही बागीलाई मन्त्री बनाउन माओवादीका नेता वर्षमान पुनले दवाव दिएपछि कांग्रेसलाई असहज हुनु स्वभाविक नै छ ।

दुई दिन अगाडि दाङको तुलसीपुरस्थित चखौरामा भएको छलफलमा सभापति अमरसिंह पुनले गठबन्धनको मर्म र भावना विपरित बागी दीपेन्द्र पुनलाई गठबन्धनको सरकारमा मन्त्री बनाउने माओवादी नेता वर्षमान पुनको दवावमा असहमति प्रकट गरेका थिए ।

सभापति अमरसिंह पुनले भनेका छन्, ‘माओवादी केन्द्रबाट प्रदेशसभाका सदस्य जसलाई मन्त्री बनाए पनि हुन्छ । मेरो कुनै आपत्ति छैन । मन्त्री बनाउने अधिकार माओवादीलाई छ । तर, गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर, गठबन्धनकै उम्मेदवार हराउने स्वतन्त्र सांसदलाई गठबन्धनको अहिलेको सरकारमा मन्त्री बनाउनु हुँदैन भन्ने मेरो अडान छ ।’

दीपेन्द्र पुनलाई कम्तिमा पनि गठबन्धनको सरकारमा पहिलो पटक नै मन्त्री बनाउन नहुने अडानमा सभापति अमरसिंह पुन छन् । अर्को पटक बागी दीपेन्द्र पुनलाई मन्त्री बनाउँदा आफूलाई कुनै आपत्ति नहुने बताएको एक नेताले बताएका छन् ।

लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले मन्त्रालय फुटाएर बढाउँदा पनि आफूलाई कुनै आपत्ति नरहेको र अहिलेकै संख्या यथावत रहँदा पनि कुनै असहमति नरहेको चखौरा बैठकमा कुरा राखेका थिए ।

चखौराको बैठकमा सभापति अमरसिंह पुनले नेता वर्षमान पुनलाई भनेका थिए, ‘राजनीतिमा दीपेन्द्र पुनले तपाईलाई सहयोग गर्नुभयो होला अर्को कुरा भयो । गठबन्धन भनेर चुनाव लडेपछि गठबन्धनकै उम्मेदवारलाई हराउने, अहिले आएर मन्त्री बनाउने कुरा राम्रो हुँदैन । भोलिका दिनमा तपाईको हाकमा पनि राजनीतिमा त्यो कुरा लागू हुन सक्छ । म गठबन्धन बलियो बनाउने पक्षमा छु । तर, गठबन्धन विरोधीलाई मन्त्री बनाउने पक्षमा छैन ।’

माओवादीका नेता वर्षमान पुनले लुम्बिनी सरकारको मन्त्रिपरिषद विस्तारमा दिएको दवावबाट गठबन्धनलाई तनाब भएको छ । बागी दीपेन्द्र पुनलाई मन्त्री बनाउने अडान नेता वर्षमान पुनले राखेपछि लुम्बिनीमा सरकार विस्तारमा समस्या उत्पन्न भएको छ । माओवादीमा अरु पनि मन्त्री बन्ने प्रदेश सभा सदस्य छन् । तर, वर्षमान पुनले दीपेन्द्र पुनलाई बोकेका छन् ।

केन्द्र सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन् । लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । सरकार सहज रुपमा चाउने हो भने माओवादीका नेता वर्षमान पुनले बागीलाई मन्त्री बनाउन दवाव दिन नहुने लुम्बिनीका नेताहरूको भनाइ छ ।

Published : Wednesday, 2023 November 22, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया