भुइँचालो क्षेत्रमा उद्दारका लागि ३ सय ६७ सशस्त्र प्रहरी परिचालन

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुइँचालोमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।

हालसम्म भुइँचालोमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२ जनाको मृत्यु भएको सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १ सय ५५ जनाको उद्धार गरिएको छ ।

भुइँचालोमा परेकाहरूको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रा.सशस्त्र प्रहरी निरीक्षक डा.निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली खटिएको छ ।

नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरु आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।

पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा. सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुलीको कमाण्डमा ९ जना, नं. २९ ज्वालामाई गण दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जना, नं. ४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट २ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५ जना गरी जम्मा १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष जनशक्ति समेत परिचालन गरेको छ । अन्य युनिटहरूबाट समेत फौज परिचालनको लागि तयारी हालतमा राखिएको छ ।

Published : Saturday, 2023 November 4, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया