एप्पल आइफोन १५ सार्वजनिक, यस्ता छन् विशेषता

लण्डन । एप्पलले नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ ।

युरोपेली संघको दबाबमा कम्पनीले यो कदम चालेको छ । आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो । अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

मङ्गलवार आफ्नो वार्षिक लन्च कार्यक्रममा, कम्पनीले अब विश्वव्यापी रूपमा स्वीकृत मानक युएसबी–सी केबल नै प्रयोग गरिने बताएको छ ।

एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिलेभन्दा धेरै उन्नत चिप हुनेछ ।

सीसीएस इनसाइटसँग सम्बद्ध बेन वुड भन्छन्, ‘आइफोन र एप्पल वाच अब परिपक्व उत्पादनहरू भइसकेका छन्, त्यसैले यो अचम्मित पार्ने खालको पनि छैन ।’

नयाँ आईफोन अर्को सातादेखि बजारमा उपलब्ध हुनेछ । यो सन् २०१२ पछि पहिलो आईफोन हुनेछ जसमा वैकल्पिक चार्जिङ पोर्ट हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार पहिलेदेखि नै एप्पलका धेरै ल्यापटप र आइप्याड मोडलमा काम गर्ने युएसबी–सी टाइप केबलले एयरपड्स प्रो र वायर्ड इयरपड हेडफोनहरूको नयाँ संस्करणहरूमा पनि काम गर्नेछ ।

एप्पललाई ग्राहकको सुविधाका लागि आफ्नो छुट्टै लाइटनिङ चार्जिङ पोर्ट त्याग्न भनेको थियो । यसले मानिसहरूको पैसा मात्रै बचत हुँदैन ई–वेस्ट पनि कम हुनेछ किनभने चार्जरलाई पुन: प्रयोग गर्न सकिनेछ ।

एप्पलले आफ्नो वाच रेन्जको उत्पादनहरू पहिलो पटक कार्बन न्युट्रल हुने बताएको छ । नयाँ आईफोन र वाचमा थप रिसाइकल सामग्रीहरू प्रयोग गर्नेछन् । यसमा ब्याट्रीहरू पनि समावेश हुनेछन् ।

कम्पनीले आफ्नो कुनै पनि सामान तथा उत्पादनमा छालाको प्रयोग नगर्ने बताएको छ । कम्पनीले सन् २०३० सम्ममा कार्बन न्युट्रल बन्ने वाचासमेत गरेको छ ।

एप्पलका प्रमुख टिम कुकले नयाँ आईफोन १५ कम्पनीले बनाएको अहिलेसम्मकै उत्कृष्ट र शक्तिशाली आईफोन हुने बताएका छन् ।

आइफोन १५ र १५ प्लसमा थप उन्नत स्क्रिन र क्यामेरा सिस्टम हुनेछ । जबकि महँगो आईफोन १५ प्रो र प्रो म्याक्समा टाइटेनियम फ्रेम हुनेछ जसले फोनलाई थप बलियो बनाउनेछ ।

प्रो र प्रो म्याक्समा म्युट स्विचको सट्टामा एक्सन बटन हुनेछ, जुन विभिन्न फङ्सनका लागि तपाईंको आवश्यकता अनुसार सेट गर्न सकिन्छ ।

नयाँ एप्पल वाचमा जेस्चर कन्ट्रोल पनि हुनेछ । घडी लगाएको हातमा दुई औँलाले ट्याप गर्दा घडी लगाउनेले फोन उठाउन र काट्न सक्नेछन् ।

धेरै विज्ञहरू यो पनि विश्वास गर्छन् कि यी नयाँ उत्पादन र पुराना उत्पादनबीच धेरै भिन्नता नहुँदा पनि ग्राहकहरू यी नयाँ उत्पादनका लागि उच्च मूल्य तिर्न तयार हुनेछन् । बेलायतमा आइफोन १५ प्रोको मूल्य ९९९ पाउन्ड अर्थात् एक लाख ६४ हजार रुपियाँ हुनेछ ।

एप्पलको सेयरमा पनि केही गिरावट आएको थियो । गत हप्ता चिनियाँ सरकारी अधिकारीहरूले एप्पल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको खबर आएपछि कम्पनीको सेयरमा ठुलो गिरावट आएको थियो । लन्च इभेन्टले यो गिरावटको भरपाई गर्न असफल रह्यो ।

हुवावेले पनि चीनमा नयाँ स्मार्टफोन ल्याएको छ, जसका कारण कम्पनीका लगानीकर्ताहरू पनि अन्योलमा छन् ।

Published : Wednesday, 2023 September 13, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया