यी सुधारसहित आइफोन १६औं पुस्ताको रूपमा आउने

न्युयोर्क । विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले आफ्नो वार्षिक फल इभेन्ट आयोजना गर्न लागेको छ ।

एप्पलले युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको छ । स्मार्टफोनको विश्वव्यापी व्यापारमा लगभग ६ प्रतिशतले गिरावट आएको अहिलेको समयमा एप्पलले राम्रो बजार ओगटेको छ ।

कम्पनीले आफ्नो पछिल्लो आइफोन १५ सँगै एप्पल वाचको नयाँ सिरिज ९, एअरपड प्रो २, नयाँ म्याकबुक लगायतका विभिन्न उत्पादनहरू सार्वजनिक गरेको छ ।

आइफोन १५ का बारेमा एप्पलले आधिकारिक रूपमा कुनै संकेत दिएको छैन । यसअघि सो बारेमा ५ अर्बभन्दा धेरै गुगल सर्च भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

आइफोनको १६औं पुस्ताको रूपमा बजारमा आउने यो फोन आफ्नो अघिल्लो १४ सिरिजका फोनभन्दा केही हल्का, सुधारिएको चिप, यूएसबी–सी पोर्ट, पहिलेभन्दा राम्रो ब्याट्री, अझै राम्रो क्यामरा र टाइटानियम चेसिसको साथमा अपेक्षा गरिएको छ ।

एप्पलले फोनमा ताइवान सेमीकन्डक्टर कम्पनीसँगको सहकार्यमा आफ्नै इन्जिनियरहरूले डिजाइन गरेको ३ नानोमिटरको चिप प्रयोग गर्नेछ ।

वाल स्ट्रीट जर्नलका आरोन तिली पछिल्लो आइफोन १४ संस्करणभन्दा १०० देखि २०० अमेरिकी डलरसम्म महँगो हुन सक्ने अनुमान गर्छन् ।

एप्पल वाचको दुई नयाँ भर्सन एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा पनि आउनेछन् ।

पहिलेभन्दा सुधारिएको डिजाइन र प्रोसेसरका साथमा आउने यी उत्पादनसँगै एप्पलले आफ्ना ट्रेडमार्क उत्पादनहरू म्याकबुक प्रो, आइप्याड, हेडसेट लगायतमा पनि सामान्य सुधार सहितका पछिल्ला भर्सन आउनेछन् ।

झन्डै ३५०० अमेरिकी डलर मूल्यको भीआर हेडसेट बजारमा आउन अझै केही समय लाग्ने अवस्थामा एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स तथा सफ्टवेयरसम्बन्धी पनि नयाँ घोषणा गर्नेछ ।

झन्डै २०० अर्ब अमेरिकी डलरले ओरालो लागेको एप्पलको सेयर मूल्य एप्पल इभेन्टका कारण सोमबार केही स्थिर भएको थियो । कम्पनीको सेयर दुई दिनमै झन्डै ७ प्रतिशतले घटेर १७८ डलरमा झरेको थियो ।

एप्पलको सेयर मूल्यमा दुई दिनमा भएको गिरावट विश्वका झन्डै १४० देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी थियो । सेयर मूल्य यही वर्ष मात्रै ४० प्रतिशतभन्दा धेरै बढेको तथ्यांकहरू छन् ।

Published : Tuesday, 2023 September 12, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया