गुगल, फेसबुक र माइक्रोसफ्टसहित ६ वटा कम्पनी नेपालमा दर्ता

काठमाडौं । गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् ।

नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो ।

हालसम्म छ वटा विदेशी कम्पनी दर्ता हुन आएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले बताएका छन् ।

कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी भने अझै कर प्रणाली बाहिर छन् ।

सिङ्गापुरमा कार्यालय रहेका तीन वटा कम्पनी गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेड र लिङ्क्डइन सिङ्गापुर प्राइभेट लिमिटेड दर्ता भएका छन् ।

संयुक्त राज्य अमेरिकाको ब्लुमिङ्टन ठेगाना राखिएको एनसीएस पिअर्सन इन्कर्पोरेसन र वेल्मिङ्गटन काउन्टी अफ न्यू क्यासल ठेगाना भएको इब्स्को इन्टरनेसनल इन्कर्पोरेसज पनि ठूला करदाता कार्यालयमा दर्ता भएका हुन् ।

डब्लिन आयरल्यान्ड ठेगाना भएको मेटा प्लाटफर्म्स आयरल्यान्ड लिमिटेड पनि नेपालमा दर्ता भएको छ ।

Published : Tuesday, 2023 July 4, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया