कांग्रेस निकटका नेम्वाङले सम्हाले एन्फा, फुटबलमा क्रान्ति ल्याउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले जिम्मेवारी ट्रान्सफर भएको बताएका छन् ।

बुधबार एन्फा मुख्यालय सातदोबाटो, ललितपुरमा पद तथा गोपनीयताको सपथ लिँदै नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको टिमबाट आफूहरूमा जिम्मेवारी आएको बताएका हुन् ।

‘अहिले यो समिति निर्वाचित भएर आइरहेका छौं । साधारण सभाले हामीलाई गहन जिम्मेवारी दिएको छ’, उनले भने, ‘हारजित होइन, कर्माजीको टिमबाट हाम्रो टिममा जिम्मेवारी आएको छ । त्यो हामीले जिम्मेवारीपूर्वक नेपाली फुटबलमा लागू गर्नेछौं ।’

सोमबार भएको एन्फाको २१औं साधारणसभाबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्वाङले अध्यक्षकै अर्का प्रत्यासी अर्थात् निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका थिए ।

शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिमा नेम्वाङ वरिष्ठ उपाध्यक्ष रहेका थिए । अध्यक्षमा भिडेका नेम्वाङ र शेर्पा नेपाली कांग्रेस समर्थक हुन् । नेम्वाङलाई बालुवाटारले काखी च्यापेको थियो । बालुवाटारको आशीर्वाद भएपछि नेम्वाङ विजयी भएका हुन् ।

८४ भोटमा भएको प्रतिस्पर्धामा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरेका थिए ।

अध्यक्षकै अर्का प्रत्यासी राजीव पौडेलले एक मतसमेत ल्याउन सकेनन् ।

एन्फाको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा अनिल मल्ल, मनीष जोशी, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोतम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टीकाराम लामा, भरत बुढ थापा निर्वाचित भएका छन् ।

महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् ।

निर्वाचितहरूलाई निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले बुधबार शपथ गराएका छन् ।

शपथ लगत्तै नेम्वाङले पदभार ग्रहण गरेका छन् । कार्यसमितिको पहिलो बैठक पनि बसेको छ ।

यसैबीच, एन्फाको महासचिवमा किरण राई नियुक्त भएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा नवनिर्वाचित अध्यक्ष नेम्वाङको अध्यक्षतमा बसेको पहिलो कार्यसमिति बैठकले राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राई यसअघि कर्माछिरिङ शेर्पाको कार्यसमितिका सदस्य एवम् प्रवक्ताको जिम्मेवारीमा थिए ।

शेर्पाको कार्यकालमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर कारबाही नगरेको भन्दै उनले गत साउनमा राजीनामा दिएका थिए ।

कार्यसमितिले कोषध्यक्षको जिम्मेवारी रविन्द्र जोशीलाई सुम्पिएको छ ।

Published : Wednesday, 2022 June 22, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया