बालुवाटारले साथ दिएपछि एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

काठमाडौंमा सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत पाएका थिए ।

नेम्वाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराएका छन् । शेर्पाले ३९ मत मात्र पाएका थिए ।

अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले एक मत पनि पाएनन् । नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए ।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए ।

शेर्पा र नेम्वाङ शुरुमा एउटै टिममा थिए । पछि दुबै जनामा खटपट भएको थियो ।

एन्फाको सोमबारको निर्वाचनमा नेम्वाङलाई नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन थियो । शेर्पालाई देउवाले साथ दिएनन् । नेम्वाङ र शेर्पा दुबै जना नेपाली कांग्रेस समर्थक हुन् ।

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङको प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । खड्काले ४४ मत पाएका छन् ।

शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाएर वरिष्ठ उपाध्यक्षमा पराजित भएका छन् ।

Published : Monday, 2022 June 20, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया