बैंकमा पैसाको सटेज भएका बेला महोत्तरीमा प्रहरीद्वारा ५५ लाख बरामद

महोत्तरी । प्रहरीले महोत्तरी जिल्लामा स्रोत नखुलेको ५५ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बिहान पौने १० बजे औरही नगरपालिका– १ औरहीस्थित बर्दिबास–जलेश्वर सडक खण्डमा ५५ लाखसहित दुई जनालाई पक्राउ गरेको हो ।

ज.९ प. ८२४७ नं. को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक औरही नगरपालिका– २ का २१ वर्षीय धिरजकुमार यादबले बोकेको झोलाभित्र ल्याएको ५५ लाख रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।

प्रहरीले औरही नगरपालिका– २ का १८ वर्षीय रमेशकुमार सहनीलाई पनि पक्राउ गरेको छ । दुबै जनालाई भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।

उनीहरूको साथबाट नेपाली रुपियाँ १ हजार दरको ४५ सय थान गरी ४५ लाख, ५ सय दरको २ हजार थान गरी १० लाख रुपियाँ बरामद भएको छ ।

एउटा डिस्कभर मोटरसाइकल, २ थान मोबाईल, विभिन्न बैँक तथा बित्तीय संस्थाको नाममा जारी भएका ७८ थान चेकहरू र श्री राजदेवी मनी ट्रान्सफर लेखिएको रवरको १ थान छाप बरामद भएको एसपी पंगेनीले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाहरूमा पैसाको अभाव भएका समाचारहरू आइरहेका बेला महोत्तरीमा प्रहरीले स्रोत नखुलेको पैसा बरामद गरेर सबैलाई चकित तुल्याइदिएको छ ।

Published : Sunday, 2022 March 27, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया