दशा लागेका प्रचण्ड–रेणुलाई कांग्रेसका कार्यकर्ताले बइचढ्न नदिने, हराएर सबक सिकाउने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी रेणु दाहाललाई भोट हालेर जिताउन नसक्ने केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चेतावनी दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले गठबन्धनका नाममा भरतपुर महानगरपालिकामा रेणु दाहाल र प्रतिनिधि सभाको निर्वाचनमा प्रचण्डलाई भोट दिएर जिताउन नसकिने बताएका हुन् । उनले कांग्रेसका कार्यकर्ताले चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर कांग्रेसका उम्मेदवारलाई जिताउन आतुर रहेको बताए ।

उनले चितवनमा हुने भनिएको कांग्रेस र माओवादीको गठबन्धनप्रति अहसमति व्यक्त गरेका छन् ।

उनले यसपटक भरतपुर महानगरपालिकामा कांग्रेसकै उम्मेदवार उठाउनुपर्ने बताएका छन् ।

‘चितवनमा हामीले दुईपटक गठबन्धन गरिसक्यौँ । स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा पनि गर्‍यौं’, उनले भने, ‘कांग्रेस चितवनलाई धेरै मार पर्‍यो। चितवनका कांग्रेसले दश÷दश वर्षसम्म आफ्नो चुनाव चिह्न रुखमा भोट हाल्न नपाउँदा कांग्रेस छिन्नभिन्न हुने भयो ।’

केन्द्रीय सदस्य गुरुङले भने, ‘चितवनको महानगरपालिकामा कांग्रेसलाई दिनुपर्छ भन्ने मेरो भनाइ हो । किनकि ६० हजार मत कांग्रेसको भए पनि गएको निर्वाचनमा पनि हामीले रेणु दाहाललाई भोट दिनुपर्‍यो ।’

‘मतपत्र च्यातेर जिताउनुप¥यो । हामीले हिजो माओवादीलाई सहयोग गर्‍यौं भने अब माओवादीले हामीलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, गुरुङले भनेका छन् ।

गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाललाई उम्मेदवार बनाउने हो भने उनले नजित्ने गुरुङले बताएका छन् ।

‘भरतपुर महानगरपालिकामा मेयर जित्दै गर्दा उसले २९ मध्ये दुई वटा वडा जितेको हो’, उनले भने, ‘त्यसैलाई मेयर दिँदा कांग्रेसले मत कहाँ हाल्ने ? रेणु दाहाललाई नै टिकट दिने कुरा आयो ।’

उनले भने, ‘रेणु दाहाललाई टिकट दिँदा हार्नुहुन्छ । त्यो भयो भने गठबन्धनको के महत्व भयो ? हाम्रै धेरै मान्छेले भोट हाल्दैनन् ।’

उनले भने, ‘गठबन्धन गर्नु हुँदैन भन्न खोजेको होइन । एकै ठाउँमा नगरौँ । अरु पनि ठाउँ छ नि ! बाउ–छोरीलाई एकै ठाउँमा दिने, अनि कांग्रेस के हेरेर बस्ने ? ताली बजाएर बस्ने ?’

‘अहिले एमाले हराउने भनिएको छ । गठबन्धन भयो भने एमालेलाई जिताउने गठबन्धन हुन्छ’, उनले भनेका छन् ।

नेता गुरुङले चितवनमा कांग्रेस कमजोर नभएको बरु केन्द्रले कमजोर बनाएको भन्दै प्रतिवाद गरेका छन् ।

उनले आफू चितवनको सभापति हुँदा चार वटा क्षेत्र जिताएको बताएका छन् । २०७० को निर्वाचनमा सुशील कोइरालालाई पनि जिताएको उनले बताएका छन् ।

‘प्रधानमन्त्रीलाई पनि आग्रह छ, हाम्रो कुरा सुनिदिनुस् । सधैं उनीहरूलाई दिने हो भने कांग्रेसको संगठन कसरी रहन्छ ?’, उनको प्रश्न छ, ‘कांग्रेसको संगठन जोगाउन पनि यसपटक महानगरपालिकामा हामीलाई दिनुपर्छ भन्ने हो ।’

गएको स्थानीय तहको निर्वाचनमा माओवादीसँग गठबन्धन हुँदा भरतपुर महानगरपालिका कांग्रेसले गुमाउनु परेको थियो । रेणु दाहाललाई कांग्रेसको काँधमा राखेर प्रचण्डले जिताएर प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग गठबन्धन बनाएर कांग्रेसलाई हराएका थिए ।

यस पटक चितवनका कांग्रेसका नेता कार्यकर्ताले प्रचण्ड र रेणु दाहाललाई हराएर सबक सिकाउने तयारी गरेका छन् । केन्द्रबाट गठबन्धन गरेर प्रचण्ड र रेणुले टिकट लगे पनि कार्यकर्ताले साथ नदिने भएका छन् ।

Published : Sunday, 2022 March 27, 3:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया