जनतासँग झुठ बोलेर कम्युनिस्टले दुईतिहाई मत पाएका हुन् : डा.महत

शिवपुरी । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले कांग्रेस खुरुखुरु काम गर्ने पार्टी भएको बताएका छन् ।

शनिबार नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कम्युनिस्टले जस्तो झुठको कुरा गर्न कांग्रेसले नजानेको बताए । उनले भने, ‘केपी ओलीजीले रेल ल्याइदिन्छु भन्नुभयो, समुद्र नै नभएको नेपालमा पानीजहाज ल्याइदिन्छु भन्नुभयो । जनताले पत्याएर । दुईतिहाइको भोट दिएर जिताए ।’

कम्युनिस्टले अहिलेसम्म झुठमा मात्रै बोल्ने गरेको उनले बताएका छन् । कांग्रेसले आफूले गरेको कामको कहिल्यै पनि प्रचार नगरेको बताएका उनले भने, ‘कम्युनिस्टले कांग्रेसले गरेको कामलाई पनि मैले गरेको हुँ भनेर प्रचार गर्छन् ।’

डा.महतले दुईतिहाइ मत पाउँदा पनि कम्युनिस्टले सरकार चलाउन नसकेको बताए । उनले ओलीकै पार्टीका नेताहरूले देशलाई चलाउन कांग्रेसलाई आग्रह गरेपछि सरकारको नेतृत्व लिएको बताए ।

कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेपछि भ्रष्टाचार रोकिएको उनले बताए । उनले कांग्रेसले बद्मासी नगर्न सबैलाई आग्रह गरेका छन् ।

उनले विदेशमा गएका युवाहरूलाई स्वदेशमा रोजगारी सिर्जना गरेर विदेश जानबाट रोक्नुपर्ने बताए । कम्युनिस्टले हरेक कुरालाई राजनीतिक करण गरेर विकास हुन नदिएको डा.महतले बताएका छन् ।

प्रवक्ता डा.महतले स्थानीय निर्वाचनमा अत्याधिक मतले जिताएपछि कांग्रेसले विकास गर्ने बताए ।

‘एमसीसीका लागि कम्युनिस्टले आफै निवेदन दिएर माग गर्छन्, आफै विरोध गर्छन्, आफै पास गर्छन्’, उनले भने, ‘एमसीसीबाट ६० अर्बभन्दा धेरै रकम आउँदैछ । अनुदान सहयोगलाई पनि कम्युनिस्टले राष्ट्रघात भनेका छन् । अरुण तेस्रोलाई पनि बिरोध गरेर रोके ।’

तत्कालीन दुईतिहाइको कम्युनिस्ट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको आरोप लगाएका छन् ।
डा.महतले कम्युनिस्टहरूले सरकारी ढुकुटी दुरुपयोग गरेको बताए ।

‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।’

डा.महतले ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको बताए ।

प्रवक्ता डा.महतले रोजगार कार्यक्रमको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो ? भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र रकम दिने गरिएको बताए ।

कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको आरोप डा.महतको भनाइ छ ।

उनले ओली सरकारका पालमा कैयौँ अनियमिता भएका र जसका कारण देश आर्थिक रूपमा तहसनहस हुन पुगेको आरोप लगाएका छन् ।

भ्रष्टाचार, अनियमितता तथा कम्युनिस्ट सरकारका अनेक ज्यादतीका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेको बताएका उनले त्यसपछि कांग्रेस नेतृत्वको सरकार बनेको बताए ।

उनले आगामी सबै निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने बताएका छन् ।

उनले कांग्रेसलाई ठूलो पार्टी बनाउनका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

डा.महतले कांग्रेसले सामुदायिक वनको अवधारणा ल्याएको बताए । उनले सामुदायिक वनका माध्यमबाट जंगलको संरक्षण भएको बताए ।

Published : Sunday, 2022 March 27, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया