खातुन फाउण्डेशनद्वारा बाजुरामा प्रोटिनका बट्टाहरू सहयोग

काठमाडौं । खातुन केयर फाउन्डेशन, कुपण्डोल, ललितपुरले सुदूरपश्चिमको बाजुराका विपन्न परिवारलाई प्रोटिनका बट्टाहरू सहयोग स्वरुप प्रदान गरेको छ ।

फाउन्डेशनका संयोजक तथा नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले पहिलो चरणमा दुई सय पचास वटा प्रोटिनका बट्टा सहयोग पठाइएको जानकारी दिएका छन् ।

फाउन्डेशनकी अध्यक्ष डा.इमराना खातुनले बाजुराको मुक्तिकोट गाउँमा कुपोषणले भयावह रूप लिएको समाचार थाहा पाएपछि सहयोग गरिएको जानकारी दिएकी छिन् ।

त्यस क्षेत्रमा ९५ प्रतिशत बालबालिका तथा महिला कुपोषणको शिकार हुन पुगेका छन् ।

दुई सयभन्दा धेरै बालबालिका कुपोषणका कारण बिरामी भएका छन् । कुपोषणका कारण असार महिनापछि १५ बालबालिकाको मृत्यु भइसकेको छ ।

मुक्तिकोटका कुपोषणले समस्यामा परेकाहरूको उपचार र मानवीय सहायता स्वरूप तीन लाख रुपियाँ बराबरको दुई सय पचास प्रोटिन बट्टा सहयोग गरिएको डा.खातुनले बताएकी छिन् ।

मुक्तिकोट गाउँमा पोषणयुक्त खाना र स्वच्छ पिउने पानीको अभावमा मानिसहरू कुपोषित हुने गरेका छन् ।

यही कारणबाट प्रत्येक वर्ष सरदर ४८ बाल–बालिका, किशोर किशोरी र आमाहरूको कुपोषणकै कारण मृत्यु हुने गरेको छ ।

भौगोलिक रूपले बिकट तथा भिरालो ठाउँमा रहेकोले गाउँमा मौसमी खेतीपाती हुँदैन ।

स्थानीयले उक्त क्षेत्रमा खेतीका लागि कोसिस गरेपनि खडेरी तथा पहिरोका कारण उत्पादन शून्य बनाइदिएको छ ।

मुक्तिकोट गाउँका जनताको जीविकोपार्जनका लागि खाद्यान्न तथा शिशुहरूका लागि सर्वोत्तम पिठो, सेरेल्याक तथा ल्याक्टोजेन दुग्ध जस्ता सामग्री सहयोग पठाइने फाउन्डेसनले योजना बनाएको छ ।

यसअघि, फाउण्डेशनले दुर्गम जिल्लाका साथै तराईका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमार्फत विपन्न वर्गमा विभिन्न प्रकारका औषधि समेत निःशुल्क वितरण गर्दै आएको छ ।

Published : Saturday, 2022 March 26, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया