गठबन्धनसम्बन्धि अभिव्यक्तिलाई जिल्ला सभापतिको अधिकार कटौतीमा जोड्नु भ्रम मात्रै हो : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जिल्ला सभापतिहरूको अधिकार कटौती गर्ने प्रस्ताव गरेको नभइ गठबन्धन गर्ने बेला जिल्ला सभापति र प्रदेश सभापतिबीच समन्ययकारी भूमिका गरेर जानुपर्ने उल्लेख गरेको जनाएका छन् ।

शनिबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै सभापति बानियाँले आफूले जिल्ला सभापतिहरूको अधिकार कटौती गर्ने गरेर केन्द्रीय कार्यसमितिमा कुनै पनि अभिव्यक्ति नदिएको बताए ।

‘वडाको टिकट बाँड्दा समन्वयकारी भूमिकामा जानुपर्छ भनेको हो’, उनले भने, ‘गठबन्धनमा जाँदा समन्वय गर्नको लागि टिकट वितरण गर्ने निकाय, जिल्ला सभापति यसरी जाने भन्नेछ ।’

‘पालिकास्तरको हकमा गठबन्धनमा जाँदा जिल्ला सभापति र प्रदेश सभापति तथा गठबन्धनका दलहरूको जिल्ला र प्रदेश अध्यक्षहरूसँग एवम् पालिकास्तरको हकमा सम्बन्धित प्रदेश र सम्बन्धित जिल्लासँग समन्वय गरेर निर्णय गर्नुपर्छ भन्ने हो’, सभापति बानियाँले भनेका छन् ।

उनले भनेका छन्, ‘कांग्रेस एक्लै निर्वाचनमा जाँदा विधानमा स्पष्ट व्यवस्था छ ।’

‘आवेग र भ्रमको खेती गर्ने काम नगर्दा हुन्छ । पालिका भनेको गाउँपालिका मात्रै होइन । नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका पनि पर्छ’, बानियाँले भने, ‘अभिव्यक्ति दिँदा अरुको अभिव्यक्ति नबुझिकन बोल्दा भ्रम सिर्जना हुन जान्छ । कांग्रेस भ्रम चिर्छ, यथार्थ खोज्छ । भ्रमको खेती कम्युनिस्टले गर्छन् । कांग्रेसभित्र नबुझिकन भ्रमको खेती नगर्न मेरो आग्रह मात्रै हो ।’

‘जस्तै उदाहरण स्वरुप काभ्रेमा १३ वटा पालिका छ, मकवानपुरम १० वटा छ, धादिङमा १३ वटा छ, चितवनमा महानगरपालिकासहित ७ वटा छ । काठमाडौंमा महानगरपालिकासहित नगरपालिकाहरू छन्, भक्तपुर र ललितपुरमा पनि नगरपालिका छन् । अरु जिल्लामा पनि छन् ।’, उनले भने, ‘यस्तो ठाउँमा त्यो जिल्लाको सभापति र प्रदेश सभापतिले आवश्यक्ता र औचित्यताको आधारमा गर्नुपर्छ ।’

उनले भने, ‘मैले नगरको टिकटमा निर्णय गर्ने भए पनि त्यहाँको जिल्ला सभापतिसँग सामन्वय नगरिकन निर्णय गर्दा गल्ती हुन सक्छ ।’

‘मेरो भनाइलाई केन्द्रीय सदस्यज्यूले गलत ढंगले ब्याख्या गर्नुभयो । ‘सुजो न बुझो, बेढंगले कुद्यो’ भन्ने जस्तो गरेर केन्द्रीय सदस्य हिँडेको देख्दा ताजुब लागेको छ’, बानियाँले भने, ‘शिक्षक पृष्ठभूमिबाट केन्द्रमा आउनुभएका शिक्षकहरूले सहि कुरा सिकाउने हो । बुझेर कुद्नुपर्छ ।’

सभापति बानियाँले भनेका छन्, ‘गठबन्धन अनिर्वाय छ । गठबन्धन जरुरी छ । तथ्याङ्कले पनि त्यही भन्छ ।’

‘टिकट दिने विधानको व्यवस्था छदैँछ । तर, गठबन्धन हुँदाको सवालमा वडाको टिकट दिँदा प्रतिनिधि सभाको सभापति, जिल्ला सभापति र सम्बन्धित त्यो जिल्लाको गठबन्धनका सहयात्री पार्टीहरूसँग सम्झौता गरेर जाँदा राम्रो हुन्छ भनेको हुँ’, उनले भनेका छन् ।

‘हिजोका दिनमा कांग्रेसले ३१ वटा वडा जितेको थियो भने ३१ बाट ६० कसरी पुग्ने ? ६० हामीले लिने हो भने २५ माओवादीलाई दिएर १० देखि १५ वटा वडा या कतिवटा दिने समाजवादीलाई ? दिएर कहाँ–कहाँ औचित्य र आवश्यक्ताको आधारमा समझदारीको यात्रामा सामन्वय गरेर गठबन्धन गरेर जाँदा राम्रो हुन्छ भनेको हुँ’, उनले भनेका छन् ।

‘जिल्ला सभापतिको अधिकार काट्ने भनेको होइन । भ्रमको कुरा गरेर हुँदैन’, उनले भने, ‘विधान मैले पनि पढेको छु । प्रदेशको सभापति विधान पढेर आएको हुँला । मैले गठबन्धनको बारेमा मात्रै भनेको हो ।’

‘जिल्ला सभापतिको अधिकार खोस्नुपर्छ भन्ने कुरा बोलीमा नबुझ्ने र भ्रम सिर्जना गर्नेहरूले के भने ? त्यसको बारेमा म जान चाहन्न’, उनले भने ।

‘केन्द्रीय संसदीय बोर्डले के गर्ने ? केन्द्रीय कार्यसमितिले के गर्ने ? प्रदेश सभापतिले के गर्ने ? प्रदश संसदीय समितिले के गर्ने ? जिल्ला संसदीय समितिले के गर्ने ? कसले के गर्ने भनेर विधानले व्यवस्था गरेको छ’, सभापति बानियाँले भनेका छन् ।

सभापति बानियाँले केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा जिल्ला सभापतिहरूको अधिकार कटौती गर्न प्रस्ताव गरेको भनेर समाचार बाहिरिएपछि सो समाचारको खण्डन गर्दै आफूले राखेको धारणाका बारेमा स्पष्ट पारेका छन् ।

Published : Saturday, 2022 March 26, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया