राजकिशोरको पहलमा सिरहामा दुई सडकको शिलान्यास

सिरहा । सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास गरिएको छ ।

शुक्रबार चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको एकैदिन शिलान्यास गरिएको हो ।

दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा– ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०–४० करोड रुपियाँ विनियोजन गरेको छ ।

२२ मिटर चौडाइँ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ ।

मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ । सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् ।

सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् ।

पूर्वमन्त्री समेत रहेका सांसद राजकिशोर यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताए ।
सडक निर्माणको काम सम्पन्न भइसकेपछि सिरहाका जनताको जनजीवन सहज हुने बताएका नेता यादवले जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिएको जनाएका छन् ।
उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा मन्त्री यादव र सांसद यादवसहित प्रदेश सांसद सुरेशकुमार मण्डल, जसपा नेता रामरिझन यादव लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2022 March 25, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया