‘रुख’मा झ्याप्प भोट दिएर जिताउनुस्, विकास हामी गर्छौं : मोहन बस्नेत

ठोकर्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले चुनाव चिन्ह ‘रुख’मा भोट हालेर कांग्रेसको उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।

बिहीबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– १ ठोकर्पामा शतप्रतिशत घरमा खानेपानीको धारा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसले जितकै कारण वडाबासीलाई घर–घरमा खानेपानी ल्याइदिएको बताए ।

उनले कांग्रेसले जितेका वडा र गाउँपालिकामा काम भएको तर, कम्युनिस्टले जितेको ठाउँमा विकास हुन नसकेको बताए । विकासका लागि कांग्रेसले जित्नुपर्ने बस्नेतले बताए ।

‘आउने निर्वाचनमा कांग्रेसलाई झ्याप्पै भोट हालेर जिताउनुस् । कांग्रेसले विकासमा के गर्नुपर्छ गर्छौं’, उनले भने, ‘विकास गर्न पैसा कहाँबाट ल्याउनुपर्छ हामीलाई थाहा छ । पैसा ल्याउन हुती चाहिन्छ । त्यो हुती र तागत हामीसँग छ ।’

‘कांग्रेसको जिम्मा तपाई लिनुस्, तपाईको जिम्मा कांग्रेसले लिन्छ’, उनले भने, ‘विकासको लागि रुखमा भोट हाल्नुस् ।’

नेता बस्नेतले ठोकर्पाका जनताले कांग्रेसलाई जिताएका कारण विकास पाएको बताए । ‘चुनावका बेला दृष्टि बदल्नु भयो, कांग्रेसले सृष्टि बदल्छ भनेका थियो । सडक बनाएका छौँ । अस्पताल बनेको छ । खानेपानी घर–घरमा ल्याइदिएका छौं’, उनले भने, ‘आचारसंहिता लागेन भने प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल उद्घाटन गर्न आउनु हुन्छ ।’

सरकारले गर्न नसकेको काम सिन्धुपाल्चोकमा कांग्रेसले गरेको उनले बताएका छन् । सिन्धुपाल्चोकमा ३० वर्षसम्म कम्युनिस्टले झुक्काएको बताएका बस्नेतले कम्युनिस्ट भनेका विकास विरोधी भएको बताए ।

उनले भने, ‘दुईतिहाइको कम्युनिस्टले कोरोनाका बेला अक्सिजन सिलिण्डर ल्याउन सकेको थिएन । कांग्रेसले ल्यायो, मोहनबहादुर बस्नेतले निःशुल्क बाँड्यो । कम्युनिस्टले हामीलाई राहत पनि बाँड्न अवरोध गरे ।’

नेता बस्नेतले भनेका छन्, ‘अक्सिजन प्लान्ट सुनकोशीमा ल्याएर राखेका छौँ । उत्पादन शुरु भएको छ । कम्युनिस्टले जितेको ठाउँमा काम गर्न दिँदैनन् । कांग्रेसले जितेको ठाउँमा ल्याएर राखेका छौँ ।’

‘बाह्रविसेमा पीसीआर परीक्षणको मेसिन राख्न खोज्दा कम्युनिस्टले डाक्टरलाई धम्काएर राख्न दिएन’, उनले तितो अनुभव पोखेका छन् ।

उनले भने, ‘मेलम्ची र हेलम्बुमा ५ हजारको दरले पहिरोले नोक्सान गरेकै दिन गएर पैसा बाँढेका छौँ । घर बनाइदिएका छौँ । केपी ओली आएर ५० हजार दिन्छु भनेर गए । अहिलेसम्म एक रुपियाँ दिएका छैनन् ।’

नेता बस्नेतले कम्युनिस्टले आफू पनि नगर्ने, अरुलाई गर्न नदिने हर्कतले जनता दिक्क भएको बताए ।

Published : Friday, 2022 March 25, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया