सलमान खानको कार्यक्रमप्रति विप्लव समूहको आपत्ति, कार्यक्रमबारे सोँच्न चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बलिउड अभिनेता सलमान खानसहितका कलाकारहरूको ‘दबङ द टुर रिलोडेड’ कार्यक्रमप्रति आपत्ति प्रकट गरेको छ ।

विप्लव निकटको अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सो कार्यक्रमप्रति एकपटक सोँच्दा राम्रो हुने चेतावनी दिएका छन् ।

उनले घुमाउरो भाषामा सलमान खानको कार्यक्रम र आयोजकप्रति आक्रोश पोखेका छन् ।

‘भारतीय सांस्कृतिक साम्राज्यवादका विरुद्ध फेरि पनि एकपटक लडाइँ लड्नुपर्ने भो’, थपलियाले भने, ‘भारतीय कलाकार सलमानहरूले फेरि एकपटक सोँच्दा राम्रो ।’

महासचिव थपलियाले आफ्नो पार्टी नेकपाको बैठक चलिरहेकाले केही दिनभित्र सलमान खानको कार्यक्रमलाई गर्न दिने वा अबरोध गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । विगतमा पनि सलमान खानको कार्यक्रमको विरोध गरेको र बिथोल्ने निर्णय भएकै कारण कार्यक्रम रद्द भएको जनाइएको थियो ।

यसअघि २०७६ सालको असार २९ गते ओडिसी इन्टरटेनमेन्ट प्रबन्ध निर्देशक सिमान्त गुरुङले सलमान खानलाई ल्याउने भनेर ४ करोड रकम उठाएर कार्यक्रम रद्द गरेका थिए ।

सोही ठगीको अभियोगमा तत्कालीन समयमा प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । अहिले गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई प्रयोग गरेर पत्रकार सम्मेलन गर्नेदेखि सलमान खानसँग भिडियोमा कुरा गराउने कार्य गरेका छन् ।

मन्त्री जस्तो व्यक्ति आलेले हल्का रुपमा प्रस्तुत हुँदै सर्वसाधारण नागरिकले जसरी सलमान खानसँग कुरा गरेका छन् । आलेको प्रस्तुति निकै तल्लोस्तरको रहेको भन्दै आलोचना भएको छ ।

सलमान खनालाई प्लेनमा चढाएर घुमाउँछु, तपाईको फिल्म धेरै हेरेको छु, फ्यान हुँ जस्ता कुरा भनेर आलेले मन्त्री पदको गरिमालाई धक्का दिएका छन् ।

Published : Thursday, 2022 March 24, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया