उर्मिलाको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न समिति गठन

काठमाडौं । मोरङको लेटाङमा प्रहरी जवानको ज्यान जाने गरी भएको घटना छानबिन गर्न समिति गठन भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिले घटनाको छानबिन गरेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउनेछ ।

आइतवार मोरङ लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविमा स्थानीय र प्रहरीबीच झडप हुँदा २५ जना घाइते भएका थिए ।

प्रदर्शनकारीले चक्कु प्रहार गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको भने मृत्यु भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्ने बताएका थिए । प्रहरीले छानविन समिति गठन गरेर आफ्नो काम अगाडि बढाएको छ ।

Published : Wednesday, 2022 March 23, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया