गृहमन्त्री खाणको विप्लवप्रति लक्षित अभिव्यक्ति, मन परेको जनप्रतिनिधि छान्न आग्रह

चन्द्रौटा । गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।

बुधबार कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै खाणले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दलहरूलाई स्थानीय तहको निर्वाचन सहभागी हुन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति लक्षित गरेर निर्वाचनमा सहभागी भएर देश निर्माणमा लाग्न आग्रह गरेका हुन् ।

उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको बताएका छन् ।
नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको खाणले बताएका छन् ।

गृहमन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

लामो समय सशस्त्रमा सेवा गरेर अवकाश भई घर फर्किदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनले बताएका छन् ।

Published : Wednesday, 2022 March 23, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया