कांग्रेसका युवा नेता एवम् ‘एलओडी’का मालिक खत्रीद्वारा १० लाख सहयोग

गोरखा । नेपाली कांग्रेसका युवा नेता एवम् समाजसेवी प्रेम खत्री सामुदायिक सेवा केन्द्र निर्माणका लागि १० लाख रुपियाँ दिएका छन् ।

सोमबार गृहजिल्ला गोरखाको भीमसेन थापा गाउँपालिका– १ घ्याम्पेसालमा दुल्लभ सामुदायिक सिकाइ केन्द्रको भवन निर्माणका लागि व्यवसायी समेत रहेका नेता खत्रीले १० लाख रुपियाँ सहयोग गरेका हुन् ।

सिकाई केन्द्रका अध्यक्ष बालकृष्ण लामिछानेका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा घ्याम्पेसालमा आयोजित कार्यक्रममा खत्रीले आर्थिक सहयोग गरेका हुन् ।

केन्द्रका लागि पाँच लाख रुपियाँ भीमसने थापा गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट बिनियोजन गरेको छ ।

सोही रकम र खत्रीबाट प्राप्त भएको १० लाख रुपियाँबाट भवन निर्माणको काम भइरहेको केन्द्रका अध्यक्ष लामिछानेले बताएका छन् ।

गोरखामा २७ वटा सामुदायिक सिकाई केन्द्र छन् । भीमसेन थापा गाउँपालिकामा तीन वटा केन्द्र छन् ।

केन्द्रले विपन्न वर्गका महिलाको आय आजर्न, जीविकोपाजर्न, गरिवी निवारण र निरन्तर शिक्षा जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

केन्द्रले बीउ पुँजी दिने, तालिम दिने, मासिक बचत गर्न सिकाउने जस्ता गतिविधि गर्दै आएको छ ।

खत्रीको घर आरुपोखरीमा पर्छ । कांग्रेसको महासमिति सदस्य समेत रहेका खत्री ठमेलको क्लव ‘एलओडी’का मालिक पनि हुन् ।

गोरखा जिल्लामा शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्दै आएका खत्रीले जिल्लाका स्थानीय तहहरूलाई एक–एक वटा एम्बुलेन्स समेत दिइसकेका छन् ।

भूकम्प, कोरोना महामारीसहित विपत्तीका बेला खत्रीले समस्यामा रहेको समुदायलाई सहयोग गरेका थिए ।

Published : Tuesday, 2022 March 22, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया