देउवाले एमसीसीमा सहमति गराइछाडे, प्रचण्ड–माधवले साथ दिए, यसरी मिल्यो कुरा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास र सत्ता गठबन्धनका दलहरूको समर्थनमा एमसीसी प्रतिनिधि सभाबाट पारित हुने भएको छ ।

प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा एमसीसीले प्रवेश पाउनेछ । प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रयासमा एमसीसी पारित हुने भएको हो ।

नेपालका तर्फबाट एमसीसीका विषयमा उठाइएका प्रश्नहरू र त्यसमा एमसीसीले दिएको जवाफलाई आधार मानेर गठबन्धन सरकारले एमसीसी सम्झौताको मूल प्रस्ताव र संशोधन प्रस्ताव एकैपटक पास गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री देउवा जसरी भएपनि एमसीसी पास गर्ने अडानमा रहेको र गठबन्धनमै रहेका माओवादी केन्द्रसहित कतिपय घटकहरूले संशोधनबिना पास गर्नै नसकिने अडान लिइरहेका बेला बीचको विकल्पमा सहमति भएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

गठबन्धनले यसअघि अर्थ मन्त्रालयका तर्फबाट सम्झौतामा देखिएका कतिपय बुँदाहरूमा स्पष्टीकरण सोधेको थियो ।

सो स्पष्टीकरणमा अमेरिकाले दिएको जवाफलाई पनि संसदबाट सँगै पास गरेर मूल प्रस्तावकै अंग बनाउने गठबन्धनको तयारी छ ।

उता, सत्तारुढ गठबन्धनले संशोधनसहित एमसीसी पास गर्ने सहमति गरेको छ । शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो सहमति गरेको हो ।

एमसीसीका विषयमा देखिएको विवादका बुँदाहरूमा अमेरिकाले दिएको जवाफलाई समेत समेटेर संसदबाट एमसीसी पास गर्ने सत्तारूढ गठबन्धनको तयारी छ ।

यसो गर्दा एमसीसीका कतिपय बुँदाहरूले नेपालको राष्ट्रियतामा माथि आँच आउने भनिएका विषयहरू संशोधन हुन जाने गठबन्धनको बुझाई छ ।

संशोधनका बुँदाका रुपमा यसअघि नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयले एमसीसी समक्ष सोधिएका प्रश्न र त्यसमा उनीहरूले दिएको जवाफलाई नै सरकारले संसद समक्ष पेस गर्नेछ ।

यसरी एमसीसी सम्झौताको मूल प्रस्ताव र संशोधन प्रस्ताव संसदबाट एकै पटक पारित गरेपछि एमसीसी संशोधनसहित पारित भएको मानिने गठबन्धनको भनाई छ ।

यसअघि एमसीसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाले जवाफ दिएको थियो ।

एमसीसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ वटा प्रश्नमा आधारित भइ एमसीसीको मुख्यालयलाई पत्राचार गरेको थियो ।

उक्त पत्रचारको जवाफ दिँदै अमेरिकाले परियोजना कुनै पनि सैन्य गठबन्धनको अंग नभएको प्रष्टिकरण दिएको थियो ।

उता, आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइनेछ ।

संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।

दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको छ ।

Published : Saturday, 2022 February 26, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया