काठमाडौंकै अर्को ठूलो सहकारीका अध्यक्ष पक्राउ, सञ्चालकहरूको भागाभाग

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्तिहरू पक्राउ परेका बेला नाम चलेको अर्को सहकारीका अध्यक्ष बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

काठमाडौंको मैतीदेवीमा रहेको ‘मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्था’का अध्यक्ष रामप्रसाद कँडेललाई काठमाडौं महानगरीय प्रहरी प्रभाग सिंहदरबारले बागबजारबाट पक्राउ गरेको हो ।

काठमाडौं बस्ने वर्ष ५७ वर्षीय व्यक्तिले दिएको मुद्धा जाहेरीका आधारमा बाग्लुङ जिल्लाको साविक बिहु गाविस–२ (हाल काठखोला गाउँपालिका–६) स्थायी घर भई काठमाडौं महानगरपालिका–२८ बागबजार बस्दै आएका ५२ वर्षीय कँडेललाई बैंकिङ कसुरमा पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले जानकारी दिएका छन् ।

बैंकिङ कसुरमा मुद्धा जाहेरी परेपछि सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतम फरार भएका छन् ।

प्रहरीले गौतमलाई पक्राउ गर्न खोजी शुरु गरेको छ । प्रहरीका प्रवक्ता मैनालीले भनेका छन्, ‘टीकाराम गौतम फरारमा हुनुहुन्छ । उहाँलाई पक्राउ गरेर कानूनी दायरमा ल्याउँछौँ ।’

प्रहरी प्रवक्ता मैनालीले २०७८ असार ३१ गते १५ लाखको बैंकिङ कसुरमा मुद्धा जाहेरी दर्ता भएपछि २०७८ साल पुसको ११ गते बागबजारबाट कँडेललाई पक्राउ गरेको जनाएका छन् ।

कँडेललाई पुसको ११ गतेबाट लागू हुने गरेर उच्च अदालत पाटनबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको मैनालीले जानकारी दिए ।

मानापाथी र त्रिपल एम नामक दुई वटा सहकारी एकीकरण भएर बनेको मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कँडेल पक्राउ गरेपछि सञ्चालक समितिका अन्य सदस्यहरू भूमिगत भएका छन् । सहकारीको कार्यालय बन्द अवस्थामा रहेको पीडितहरूले बताएका छन् ।

निक्षेपकर्ताहरूको करोडौं रुपियाँ उठाएर अध्यक्ष कँडेल नै बैंकिङ कसुरमा पक्राउ परेपछि सहकारी जोखिममा परेको छ ।

पीडितहरूले आफ्नो रकम माग गर्दा अध्यक्ष कँडेल र सचिव गौतमले नदिएको गुनासो छ । उनीहरूविरुद्ध करोडौंको ठगी गरेको आरोप पीडितहरूको छ । सहकारीको अडिट रिपोर्ट नै फेक रहेको पीडितहरूले बताएका छन् ।

काठमाडौं उपत्यकासहित देशभरिका अधिकांश सहकारीहरूको लगानी अपारदर्शी भएको गुनासाहरू आएका छन् । केही सहकारीका मुख्य व्यक्तिहरू पक्राउ समेत परेका छन् ।

गुनासाहरू आउनेवित्तिकै सहकारीको कागजपत्र कब्जामा लिएर अनुसन्धान गर्ने हो भने निक्षेपकर्ताको रकम डुब्ने थिएन । सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस्ता सहकारीको गुनासो आउनेवित्तिकै छानविन र अनुसन्धान गर्नुपर्ने माग पीडितहरूको छ ।

Published : Thursday, 2021 December 30, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया