आर्सनलसँग नर्विच सिटी पराजित

लण्डन । आर्सनलसँग नर्विच सिटीमाथि ५–० को जित दर्ता गराएको छ ।

आर्सनल र नर्विच सिटीबीच कारो रोड नर्विच नोरफोल्कमा आइतबार राति प्रतिस्पर्धा भएको थियो ।

रेलिगेसन जोनमा संघर्ष गरिरहेको नर्विच सिटीलाई उसकै घरेलु मैदानमा आर्सनलले फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा साकाले दुई गोल गरेका छन् । काइरन टिएरनी, एलेसान्द्र लाकाजेट्ट र इमिल स्मिथ रोवीले एक–एक गोल गरेका छन् ।

आर्सनलले छैटौ मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो । उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा काइरन टिएरनीले ओडेगार्डकै पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६७औं मिनेटमा साकाले एलेसान्द्रे लाकाजेट्टको पासमा गोल गरेपछि आर्सनल खेलमा ३–० ले अघि बढ्यो ।

८४औं मिनेटमा लाकाजेट्टले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनललाई ५–० को सानदार जित दिलाए ।

जितपछि चौथो स्थानमा रहेको आर्सनलको १९ खेलबाट ३५ अंक पुगेको छ ।

Published : Monday, 2021 December 27, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया