रामचन्द्रको ‘घरमा घाम’ लागेन, ठूलो मौका गुम्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनको मतदान प्रक्रियामा भाग नलिएर गम्भीर गल्ती गरेका छन् ।

पौडेलका आलोचकहरूले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया अर्थात मतदान ‘बहिस्कार’ गरेको भन्दै टिकाटिप्पणी भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले नेता पौडेललाई मतदान नगरेर कांग्रेसको मूल्य र मान्यतालाई चुनौती दिएको आरोप लगाएका छन् ।

नयाँ नेतृत्वका लागि सोमबार काठमाडौंको भृकुटीमण्डपमा मतदान भएको छ । मतदानमा महाधिवेशन प्रतिनिधिहरूले लामबद्ध भएर मतदान गरेका छन् ।

सभापतिमा साझा उम्मेदवार बन्न नपाएको झोँकमा असन्तुष्टि जनाउन नेता पौडेलले मतदान गरेनन् । उनी ‘तटस्थ’ बस्ने बहानामा मताधिकारको अधिकार गुमाएका छन् ।

संसदीय प्रजातन्त्रका लागि ६० वर्ष कांग्रेस पार्टीमा विताएका नेता पौडेलले मतदान प्रक्रियालाई बहिस्कार गरेर उचित निर्णय गरेनन् । गोप्य मतदान गर्नु नेता पौडेलको अधिकार हो । उनले दिएको गोप्य मतदान कसैलाई पनि थाहा हुने थिएन ।

कांग्रेस ठूलो पार्टी हो । गिरिजाप्रसाद कोइरालाका कारण गणेशमान सिंह र कृष्णप्रसाद कोइराला ‘किशुनजी’ जस्ता नेताहरूले पार्टी छाड्नु परेको थियो । गणेशमान र किशुनजीले पार्टी छाड्दा केही नभएको कांग्रेसलाई नेता पौडेलले असन्तुष्टि जनाएर मतदान नगर्दैमा केही पनि हुँदैन ।

त्यसको नोक्सानी पौडेललाई नै हुन्छ । बरु नेता पौडेलले आफूलाई अबरोध गर्ने समूह वा नेतालाई कांग्रेसभित्रको राजनीतिमा सक्रिय रहेर उपयुक्त समयमा उपयुक्त जवाफ दिन सक्नुपर्ने थियो ।

कांग्रेसमा तटस्थ बस्ने विधानमा कतै लेखेको छैन । मतदान नगर्नु भनेको निर्वाचन प्रक्रियालाई बहिस्कार ठानिन्छन् । नेता पौडेल जस्तो नेताले मतदानलाई बहिस्कार गरेर कम्युनिस्टको बाटोलाई पच्छ्याएको त होइन भनेर प्रश्न उब्जाइदिएका छन् ।

बिगतमा कम्युनिस्टले निर्वाचन र मतदान प्रक्रियालाई बहिस्कार वा तटस्थ बसेको विषयमा नेता पौडेलले आलोचना गरेका थिए । अहिले आएर आफ्नो पार्टीकै महाधिवेशनमा मतदान गरेका छैनन् ।

सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला पनि थिए । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिहरूसँग भोट मागे । प्रतिनिधिहरूले पनि शशांकलाई माया गरेका छन् ।

नेता पौडेलले मतदान मात्र बहिस्कार गरेनन् । केन्द्रीय सदस्य वा अन्य पदमा पनि उम्मेदवारी दिएनन् । पौडेलले जीवनकै ठूलो भुल गरेका छन् । कोइराला परिवारबाट भएको धोकालाई पौडेलको राजनीतिक जीवनमा क्षतिपूर्ति हुने सम्भावना निकै कम छ ।

बरु सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दिएको सुझावअनुसार पार्टीमा क्रियाशील रहेर आफूलाई उपयुक्त लाग्ने समूह वा नेताहरूसँग मिलेर अगाडि बढ्दा राम्रो हुन्छ ।

Published : Monday, 2021 December 13, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया