सानेपामा महाधिवेशन बिथोल्ने हर्कत, यी नेताहरूले हैसियत भुले

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिलेर गर्ने बेला रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरूले अर्को बखेडा झिकेर उत्पात मच्चाएका छन् ।

क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दै पौडेल समूहका सभापतिहरू बुधबार पनि पार्टीको केन्द्रीय कार्यालय सानेपाल, ललितपुरमा धर्ना बसेका हुन् ।

सभापतिहरूको धर्नामा नेता पौडेल, महामन्त्री शाशंक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, बलबहादुर केसी, अर्जुन नरसिंह केसी, रामशरण महत, शेखर कोइराला, दिलेन्द्र बडु, दीपक गिरीसहितका नेताहरू सानेपा पुगेर चर्का कुरा गरेका छन् ।

यी नेताहरूले पार्टीभित्रको विवाद मिलाउनुको साटो सानेपामा रमिता देखाएपछि महाधिवेशन बिथोल्ने हर्कत भएको भनेर आलोचना पनि भएका छन् ।

सानेपामा नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला रिले अनसनमा बसेका छन् । यी तीन जना सभापतिहरूले आफ्नै जिल्ला सम्हाल्न सकेका छैनन् ।

नुवाकोटका सभापति केसीले लामो समयदेखि आफ्ना दाई अर्जुन नरसिंह केसीको बलबुतामा पार्टी कब्जा गर्दै आएका छन् । केसी परिवारले नुवाकोट कांग्रेस बिगारेको आरोप छ ।

काभ्रे कांग्रेसका सभापति मधु आचार्यले पनि पार्टीलाई बिगारेका छन् । यस पटक सभापति आचार्यको खटिया खडा हुनेवाला छ । महाधिवेशनमा पराजय हुने डरले आचार्यले काभ्रेको रिस सानेपामा देखाइरहेका छन् ।

धादिङ कांग्रेसका सभापति रमेश धमलाले पनि संगठन कमजोर बनाएको आरोप छ । उनले धादिङमा आफ्ना विरोधीलाई ठेगान लगाउन महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेर योजना बनाउने गरेको आरोप छ ।

क्रियाशील सदस्यताको नामावली सहमतिमा टुंगो लागिसकेको छ । क्रियाशील सदस्यहरूको सूची सभापति शेरबहादुर देउवा र नेता पौडेललाई सँगै राखेर दिइएको थियो । आफैले बुझेको सूचीमा अविश्वास भएर पौडेल समूहले जिल्ला सभापतिका नाममा बखेडा निकालेको छ । बखेडा निकाल्नेमा सबैभन्दा अग्रपंक्तिमा नुवाकोट कांग्रेसका सभापति केसी छन् ।

उनीहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन् । विधिअनुसार मात्रै क्रियाशील सदस्यता दिनुपर्ने माग उनीहरूको छ ।

सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग उनीहरूले गरेका छन् ।

कांग्रेसको विधानमा जिल्ला सभापति उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउने गरी निर्वाचन निर्देशिका बनाइएकोमा जिल्ला सभापतिहरूले विरोध गरेका छन् ।

बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक गरेर जिल्ला सभापतिहरूका मागमा समर्थन जनाएका पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू दिउँसो सानेपामा पुगेका थिए ।

कांग्रेसले करिब ९ लाखलाई क्रियाशील सदस्य बनाएको छ । कांग्रेसले सूचीलाई प्रकाशित गर्ने जनाइसकेको छ । बखेडा झिक्न र १४औँ महाधिवेशन विथोल्न पौडेल समूह सक्रिय भएको आरोप छ ।

क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि सभापति देउवाले निर्वाचन समितिलाई क्रियाशीलको नामावली बुझाउनुपर्छ । निर्वाचन समितिले पार्टीको वेबसाइटमा अन्तिम सूची राख्ने व्यवस्था छ ।

क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न कांग्रेसले सुरूमा केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो ।

समितिले साउन १२ मा सभापति देउवालाई प्रतिवेदन बुझाएपछि बाँकी विवाद हल गर्ने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखकले पाएका थिए ।

उनीहरूले सहमतिमै विवाद हल गरेर सभापति देउवालाई प्रतिवेदन बुझाइसकेका छन् । विवाद भएका वडामा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने सहमति नेताहरूबीच भएको छ ।

Published : Thursday, 2021 August 26, 12:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया