विशाल पण्डितको अर्बौंको ‘विशाल छाती’, सम्पत्ति शुद्धीकरण विभाग बेहोस्

काठमाडौं । सरकारी अस्पतालहरूमा सेटिङ गरी १० गुणा महँगोमा स्वास्थ्य उपकरण आपूर्ति गरी अर्बपति बनेको आरोप खेप्दै आएका विशाल पण्डितको सम्पत्तिमाथि छानविनको माग उठेको छ ।

लाइफलाइन ट्रेड प्रालि र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक पण्डितले अकस्मात रातारात कमाइ गरेको अर्बौंको सम्पत्तिमाथि छानविन गर्न सत्तपत्ति शुद्धीकरण विभागले चासो नदेखाएको भनेर गुनासाहरू आउन थालेका छन् ।

पण्डितले काठमाडौंको चुनदेवीमा २६ आना जग्गासहितको बंगला खरिद गरेका छन् । ओम्नी ग्रुपबाट स्वास्थ्य सामग्री खरिद गरिए पनि त्यसको डिजाइनर पण्डित हुन् ।

पूर्व प्रमु्ख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठका छोरीज्वाई महेश सिंहको नाममा रहेको उक्त जग्गा पण्डितले १३ करोड ५० लाख रुपियाँमा खरिद गरेको स्रोतले बताएको छ ।

पण्डितले सिंहदरवारको सुरक्षालाई नै दिएर बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयसँगै बुटिक होटल ‘बसेरा’ निर्माण गरेका छन् । उनले होटेल सञ्चालनमा ल्याइसकेका छन् ।

३६ आनामा बनेको ११ तले होटल सिंहदरवारको सुरक्षाका लागि खतरा हुने भएकाले अधिग्रहण गर्नुपर्ने प्रतिवेदन सरकारले गठन गरेको समितिले २ वर्षअघि दिएको थियो ।

संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि ११ तलाको होटल निर्माण गरेपछि सरकारले गृहमन्त्रालयका सह–सचिव रामप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले सिंहदरवार आसपासदेखि राष्ट्रपति भवन, सैनिक मुख्यालय लगायतका निकाय आसपास बनेका भवनको समग्र पक्षको अध्ययन गरी होटल इमिरो प्लाजाका कारण सिंहदरवारमा सुरक्षा खतरा हुनसक्ने औंल्याउँदै अधिग्रहण गर्नुपर्ने प्रतिवेदन २०७६ भदौ १५ मा गृहमन्त्रालयमा बुझाएको थियो ।

प्रतिवेदन दिएको २ बर्ष ब्यतित भइसक्दा पनि सरकारले अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छैन ।

काठमाडौं महानगरपालिकाले उक्त होटलको नक्सापास लामो समय पास गरेको थिएन । सिंहदरबारनजिकै ११ तलाको भवनको नक्सापास गर्न महानगरपालिकाले अस्वीकार गरिरह्यो ।

होटल संचालक विशाल पण्डित र पुस्कर पण्डितले शक्तिशाली नेताहरूमार्फत् दबाब दिएर नक्सापास गराउन सफल भएको स्रोतले जनाएको छ ।

होटेलको अगाडि सिंहदरवारभित्र राष्ट्रिय अनुसन्धान विभागदेखि प्रधानमन्त्री कार्यालयसम्म सबै निगरानी गर्नसक्नेगरी ११ तलाको होटल पण्डितले बनाएको भनेर आलोचना हुँदै आएको छ ।

संचालक विशाल पण्डित मेडिकल उपकरण आपूर्ति र मर्मतका क्षेत्रमा एक्लौटी ठेक्का लिनसक्ने शक्तिशाली ठेकेदार भनेर चर्चित छन् ।

स्वास्थ्य मन्त्रालय वा अन्तर्गतका सबै निकायमा सेटिङ गरी क्वालिफिकेसन क्राइटेरियादेखि स्पेसिफिकेसनसम्म आफ्नो कम्पनी हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेडसँग मात्र मिल्नेगरी बनाउन लगाउने क्षमता पण्डितसँग रहेको आरोप छ । उनले सस्तोमा पाइने स्वास्थ्य उपकरणहरू सरकारी निकायसँग महँगोमा बिक्री गर्न सक्ने उत्कृष्ठ कला रहेको चर्चा पनि छ ।

महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उपकरण मर्मतको ठेक्का पाएको पण्डितको हस्पिटेकले आर्थिक वर्ष २०७३–०७४ मा मर्मत नै नगरी ४५ करोड रुपियाँ भुक्तानी लिएकाले त्यो विषयमा कारबाही हुनुपर्ने उल्लेख छ ।

पण्डितले अस्पतालका उच्च अधिकारीसँग मिलेर मर्मत नै नगरे पनि बिल बनाएर ४५ करोड रुपियाँ भुक्तानी लिएको विषय महालेखाको प्रतिवेदनमै उल्लेख छ ।

फिलिप्स ब्रान्डका मेडिकल उपकरणका आपूर्तिकर्ता होटल बसेरा बुटिकका संचालक विशाल पण्डितले स्वास्थ्य मन्त्रालय र अन्तर्गतका विभाग र ब्यवस्थापन महाशाखाका हाकिम कसलाई लैजाने भन्नेसम्मको सेटिङ गर्ने गरेको स्वास्थ्यका कर्मचारीहरूको आरोप छ ।

स्वास्थ्य सेवा विभागले २०७६ जेठ १ मा टेण्डर गरी १२८ स्लाइसको सीटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिदका लागि टेण्डर गरेको थियो ।

यी उपकरणको टेण्डरमा पहिले नै विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजसँग सेटिङ गरी विभागले ४० लाख मूल्य पर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ करोडमा खरिद गरिएको कर्मचारीहरूको आरोप छ ।

आर्थिक वर्ष २०७३–०७४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उप–कुलपति गणेश गुरुङले २२ करोड मूल्य पर्ने क्यान्सरको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ४० करोडमा पण्डितको कम्पनीबाट खरिद गरेका थिए ।

भीसी गुरुङले पण्डितकै कम्पनीसँग खरिद गर्नका लागि टेण्डर सूचनामै ब्रान्ड किटान गरेर स्पेसिफिकेसन बनाएका थिए ।

अस्पतालले लाइफलाइनमार्फत् रु. ४० करोडमा किनेको टोमोथेरापी उपकरण २२ करोडमै खरीद गर्न सकिने भएकाले १८ करोड भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको थियो ।

पण्डितको पहुँच माथिसम्म भएकाले कुनै कारबाही हुन सकेन । वीर अस्पताललाई दिएकै टेमोथेरापी मेशीन लाइफलाइनले त्यसअघि त्रिवि शिक्षण अस्पताललाई रु.२८ करोडमै उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग राज्यका निकायलाई २ सय गुणा महंगोमा उपकरण आपूर्ति गरी अकूत सम्पत्ति कमाएका पण्डितजस्ताको छानबिन गर्नेतिर भन्दा टोले गुण्डाहरूको एकाध करोड सम्पत्तिको अनुसन्धानमा समय ब्यतित गर्दै आएको आरोप छ ।

आरोपबारे के भन्छन् विशाल पण्डित ?

छ वर्ष म भाडामा बसेँ । नेपालको यत्रो व्यापारी । एउटा घर किन्नु कुनै क्राइम हो र ? दश करोडको घर किनेको ८ करोडको बैंकको लोन छ । दुई करोड खर्च गर्न सक्ने पक्कै पनि मेरो औकात होला ? नेपाल इन्भेष्टमेन्ट बैंकमा मेरो लोन छ । सोध्दा भइहाल्छ । छ वर्ष भयो म भाडामा बसेको । घर किनेको चार महिना भयो ।

मेरो बसेरा बुटिक होटेलको समाचार बन्नु पर्ने कुनै कारण छैन । नियमानुसार बनेर चलिरहेको प्रपर्टी हो त्यो । त्यसमा पनि ८० करोडको लोन छ । तपाईले बैंकबाट भेरिफाइ गरे हुन्छ । होटेल शुरु हुनुभन्दा पहिलो कोभिड–१९ शुरु भयो । अहिलेसम्म दुइटा रेष्टुरेन्ट चलिरा छ । अरु खोल्न सकेको छैन ।

सेक्युरिटी थ्रेट भयो भन्नु भनेको तपाईले घर किनेको हो भने जस्तै त हो नि । कसलाई के मन लाग्यो त्यसले त्यही लेखिदिन्छ । ठूला शहरहरूमा ठूला बिल्डिङ नभएका कुनै शहर छैनन् होला । ती सबै थ्रेटमा छन् त ? थ्रेट हुने क्षेत्रमा सरकारले घर बनाउन दिँदैन होला त ? सरकारले अनुमति दिएर बनेको चिजलाई यसलाई विवादमा तान्नुपर्ने कुनै विषय होइन नि ? कि नियम कानून मिचेर बनाइदिनु पर्‍यो । सरकारको फर्मेटभित्र बनेर निस्किएको छ । यो ममाथिको अन्याय हो ।

सार्वजनिक खरिद ऐनबाट खरिद हुन्छ सरकारी हकमा । प्राइभेटको हकमा डाइरेक्ट रुपमा किनबेच हुन्छ । नेपालमा हाम्रा मेसिनहरू सरकारीमा भन्दा प्राइभेटमा बढी लागेका छन् । एउटै भादगाउँले टोपी एक ठाउँमा ५० अर्को ठाउँमा १०० मा बेच्न मिल्दैन । त्यही सामान प्राइभेट र सरकारी दुबैले चलाइरहेका छन् । टेण्डर प्रक्रियाबाट आउनुपर्छ ।

महालेखा परीक्षकको कार्यालयबाट आएको कुरा के आएको छ थाहा छैन । मैले सुनेको छैन । यो कुरा तपाईबाट सुनेको छु ।

Published : Wednesday, 2021 August 25, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया