कांग्रेसको तर्फबाट महामन्त्री खड्काले मागे माफी, शैक्षिक र भू–माफिया मन्त्रीहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले शेरबहादुर देउवाद्वारा गरिएको स्वास्थ्य राज्य मन्त्री नियुक्ति र गण्डकी प्रदेशमा मन्त्री चयनप्रति व्यापक असन्तुष्टि व्यक्त भएकोमा चिन्ता जनाउँदै माफस् मागेका छन् ।

सोमबार महामन्त्री खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत् केन्द्र सरकार र गण्डकी प्रदेश सरकारमा मन्त्री नियुक्तिका विषयमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले दुई मन्त्री नियुक्तिमा कमजोरी भएको स्वीकार गरेका छन् ।

‘गण्डकी प्रदेश सरकार र संघीय सरकारको बिस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समय मै पाठसिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवम् आम नागरिकप्रतिको कर्तव्यपालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भविश्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छदै गर्न जरुरी छ’, महामन्त्री खड्काले भनेका छन् ।

उनले भनेका छन्, ‘हामी बीचबाट जस–जसको कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसंग म क्षमा याचना गर्दछु ।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा स्वास्थ्य तथा शिक्षा क्षेत्रका माफिया उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

गण्डकीमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट तनहुँका डोबाटे विश्वकर्माको नाम काटेर भू–माफिया विन्दुकुमार थापालाई कानूनमन्त्री बनाइएको थियो ।

पार्टीमा लामो योगदान रहेका नेताहरूलाई छाडेर शिक्षा तथा स्वास्थ्य क्षेत्रका निकट व्यवसायीलाई नियुक्ति गरिएको भन्दै कांग्रेसभित्र र बाहिरसमेत प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

Published : Monday, 2021 July 26, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया