ओलीले बहिस्कार गरेपछि अपहरणको वात लागेका महेश बस्नेतको ग्याङ चकित

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले युथ फोर्सको भ्याली कमाण्डको कार्यक्रममा अनुपस्थित भएर असन्तुष्टि जनाएका छन् ।

एक पटक मरिसकेको युथ फोर्सलाई सत्ता गुमेको आवेगमा सांसद अपहरणको वात लागेका एमालेका नेता महेश बस्नेतले ब्यूँताएका छन् । युथ फोर्स ब्यूँताएको भनेर एमालेको आलोचना भइरहेका बेला शनिबार काठमाडौंमा आयोजित शपथ कार्यक्रमलाई ओलीले बहिस्कार गरेको चर्चा छ ।

शपथ कार्यक्रममा ओली आउने भनेर युथ फोर्सले ठूलो ठूलो पोस्टर र ब्यानर राखेर प्रचार गरेको थियो । आफ्नो व्यक्तिगत गुनगानमा रुचि राख्ने ओलीको तस्बिरलाई राखेर युथ फोर्सले बबरमहलको कार्की ब्याङ्केटमा कार्यक्रम गरेको छ । ओली नआएपछि एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई सम्बोधन गरेका छन् ।

एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिष्पर्धा जस्तै चलेको छ । ओली समूहले युथ फोर्स ब्युँताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अखिल फोर्स बनाएको छ ।

बिहीबार मात्रै नेपाल समूहले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो । भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको थियो ।

पार्टी भित्रको विवाद चर्किदै जाँदा एकअर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता बाहुबली संगठनको घोषणाले बन्न लागेको सहमतिको वातावरण समेत बन्ने चिन्ता नेताहरूले गरेका छन् ।

युथ फोर्सको भ्याली कमाण्डमा पुष्पराज श्रेष्ठ कमाण्डर तोकिएका छन् । श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय भ्याली कमाण्ड पनि घोषणा गरिएको छ ।

शिव थापालगायत रहने गरी १५ जनाको स्टेरिङ कमिटी र नवराज खड्कालगायत रहेको ९० सदस्यीय कोअर्डिनेसन कमिटी सार्वजनिक गरिएको छ । प्रत्येकले १०–१० जनाको कमाण्ड गर्नेछन् ।

उनीहरूलाई युवासंघका अध्यक्ष किरण पौडेलले शपथ खुवाएका थिए । युथ फोर्स ब्यूँताउने महेश बस्नेत लगायतका युवाको निर्णयले ओली समूहभित्रै केही नेता असन्तुष्ट बनेको चर्चा चलिरहेका बेला कार्यक्रममा ओलीको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ ।

Published : Sunday, 2021 July 25, 12:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया