‘मुसा’ले उचाल्दा ललितपुरका चिरिबाबुको हर्कतले सीमा यसरी नाघ्यो

पुल्चोक । ललितपुर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुरसहित सरकारी निकायको आदेशलाई अटेर गरेर हर्कतहरू गर्न थालेपछि ललितपुरमा ठूलो अतंक मच्चिएको छ ।

मेयर चिरिबाबु महर्जनको ठाडो आदेशमा महानगरपालिकाले कानून विपरितका हर्कत गरेर ललितपुरका जनतामाथि आतंक मच्चाएका हुन् ।

महर्जनले महानगरपालिकाको कार्यालय अगाडि पुल्चोकमा रहेको समय फल्चालाई पुनर्निर्माणको काम अगाडि बढाउने निर्णय गरेका छन् ।

समय फल्चा बागमती पुल–जवलाखेल सडकको पुल्चोक –ललितपुर महानगरपालिकाको कार्यालय अगाडि, ललिगुराँस सहकारीको कार्यालयसँगै जोडिएको जग्गा)मा मेयर महर्जनले जबरजस्त सडक मापदण्डलाई उल्लंघन गरेर समय फल्चा पुनः निर्माण गर्न आदेश दिएका छन् । उनको उट्पट्याङ आदेशले सो क्षेत्रमा सडक दुर्घटना हुने खतरा बढेको छ । महर्जनलाई उनका किचन क्याबिनेका मुसाहरूलाई छन्नभाँती सुझाव दिँदा जनविरोधी हर्कत गर्ने गरेको आरोप छ ।

मेयर महर्जनले समय फल्चा पुनः निर्माण गरेको स्थान चोक हो । ट्राफिक लाइट पनि छ । त्यो चोक अत्यन्तै व्यस्त मानिन्छ । खाली जमीन नहुँदा सडक डिभिजन ललितपुरले मानिस हिँड्न फुटपाथ पनि बनाउन सकेको छैन । यस्तो गाउँमा करोडौँ रुपियाँ खर्च गरेर महर्जनले पुनः निर्माणको काम अगाडि बढाउन खोजेपछि अनियमितताको आशंका पनि उब्जिन थालेको छ । मेयर महर्जनको सनकका भरमा समय फाल्चा पुनर्निर्माण गरेर बबण्डर मच्चाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको चलानी नम्बर ६९५० नम्बरको पत्रमार्फत ललितपुर महानगरपालिकालाई वडा नं. ३ को कित्ता नम्बर ३२७ को क्षेत्रफल ०–१–०–१ को जग्गामा अतिक्रमण गरि निर्माण गर्न लागेको भन्दै सो कार्य नगर्न आदेश दिएको छ ।

‘ललितपुर महानगरापलिका वडा नं. ३ कि.नं. ३२७ क्षेत्रफल ०–१–०–१ को जग्गा अतिक्रमण गरि निर्माण गर्न लागेको समय फाल्चाको बारेमा गृह मन्त्रालय सिंहदबार काठमाडौंको च.नं. ४२१ मिति २०७८–०३–१३ गतेको पत्र प्राप्त भई ब्यहोरा अवगत भयो’, जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ ।

‘सो सम्बन्धमा सडक डिभिजन ललितपुरको च.नं. २२० मिति २०७७–०९–२४ गतेको पत्रबाट सडक सीमाभित्रको निर्माण कार्य रोक्नेबारे पत्र प्राप्त गरि व्यहोरा अवगत गर्नुभएकै छ’, पत्रमा उल्लेख छ ।

‘नापी कार्यालय ललितपुरको स्थलगत अध्ययन गरि च.नं. ३१६२ मिति २०७८–०३–२४ गतेको पत्रबाट प्राप्त फिल्ड प्रतिवेदनको छायाँप्रति यसैसाथ संलग्न राखी सो आधारमा निर्माण कार्य रोक्का राख्न हुन आदेशानुसार अनुरोध छ’, जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ ।

नापी कार्यालय ललितपुरले पनि सो जग्गा सडकको मापदण्डमा पर्ने उल्लेख गरेको छ ।

सडक डिभिजन ललितपुरले पनि सडक सीमाभित्रको निर्माण कार्य रोक्न ललितपुर महानगरपालिकालाई निर्देशन दिएको छ । ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले एवम् तपसिलको आधारले समेत निर्माण गर्न नमिल्ने भएकोले निर्माण कार्य नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ’, सडक डिभिजन ललितपुरले पत्रमा भनेको छ’, ‘अन्यथा सार्वजनिक सडक ऐन, २०३१ अनुसार भईजाने व्यहोरा समेत जानकारी गराइन्छ ।’

तत्कालीन समयमा स्वयं ललितपुर उप–महानगरपालिकाले २०६८ साल मंसिर २५ गतेको महानगरपालिका बोर्ड बैठकबाट निर्णय गरेर सडक सीमाभित्र रहेको भन्दै पाटी पुनः निर्माण समितिको माग अनुसार आर्थिक सहयोग समेन नदिन नमिल्ने निर्णय गरेको थियो ।

पुल्चोक टोलबासीहरूले समेत २०६७–०६–१० गते पुल्चोक टोल सुधार समितिलाई निवेदन दिएर समय फल्चा निर्माण रोक्का गर्न माग गरेका थिए । फल्चा निर्माण गर्दा सडक दुर्घटना हुने र सर्वसाधारहरूलाई गाडी हिँड्ने सडकबाटै हिँड्नुपर्ने बाध्यता रहने भन्दै काम रोक्न माग गरेका थिए ।

यस विषयमा जानकारी लिन मेय महर्जनलाई फोनमा सम्पर्क गर्दा उनको ९८५१०२२७२३ नम्बरको मोबाइल अफ थियो । अफ नभएका बेला सम्पर्क गर्दा पनि महर्जनले फोन उठाएनन् । फोन नउठाउने मेयर महर्जनको बानिनै भइसकेको छ । उनको यो हर्कतबाट सेवाग्राही दिक्क छन् । महानगरपालिकाका सूचना अधिकृत रुद्रप्रसाद गौतमले यो विषयमा आफू बोल्न नचाहेको बताए । उनले अरुलाई नै यस विषयमा सोध्न सुझाव दिए ।

मुसाहरूको उक्साहटमा मेयर महर्जनले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई गरेको अपमानसम्बन्धी समाचार पनि छिट्टै सार्वजनिक गर्ने छौँ । महर्जनलाई उक्साउन मुसाहरूको हर्कतका भिडियोहरू पनि समय आउनेवित्तिकै सार्वजनिक हुनेछ । टेबुल ठोक्दा मुसाहरू भागेको भिडियो पनि रिपब्लिका दैनिकले प्राप्त गरेको छ । ती मुसाहरूले नै महर्जनलाई उक्साउने गरेको आरोप छ ।

Published : Saturday, 2021 July 24, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया