कांग्रेसको वडा तहको अधिवेशन स्थगित

काठमाडौं । क्रियाशील सदस्यता विवाद भइरहेका बेला नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार बुढानिलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको उनले बताएका छन् ।

साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो । क्रियाशील सदस्यताको छानविन प्रतिवेदन साउन १२ मा पेश हुँदैछ । छानविन समिति संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेपछि मात्रै अधिवेशनको टुंगो लाग्नेछ ।

कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि तोकिएको छ । त्यसलाई प्रभावित नपार्ने गरी नयाँ मिति तोकिनेछ ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल शुरु भएको छ ।

बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरूले बताएका छन् । पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।

क्रियाशील सदस्यताको विवाद हुँदा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाबाट नेताहरू आएर धर्नामा बसेका छन् ।

Published : Saturday, 2021 July 24, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया