देउवाको कुराले मुटु बिझ्ने भएपछि नेम्वाङ बैठक छाडेर टाप कसे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले संसदीय दलका उप–नेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको बताए । देउवाले धारा ७६ (५) लाई नेम्वाङले गलत ब्याख्या गरेको बताएका छन् ।

देउवाले भने, ‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ । धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ । अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो । राम्रो ब्याख्या गर्नुहोला भनेको तर, उल्टो बोलेर हिँड्नुभो ।’

एमाले संसदीय दलका उप–नेता नेम्वाङ संसदमा बोलेर प्रधानमन्त्री देउवाको जवाफ नसुनेर बाहिरिएका थिए ।

देउवाले अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेर नेम्वाङले अभिव्यक्ति दिएको आफूले सम्झिरहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आफूहरूले विश्वासको मत लिने क्रममा ह्वीप जारी नगरेको बताएका छन् ।

‘ह्वीप लगाएको होइन, भोट हाल भनेको हो’, देउवाले भने, ‘अनुरोध गरेको कुरालाई ह्वीप भन्न कहाँ मिल्छ ?’

प्रधानमन्त्री देउवाले अब आफ्नो सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको भन्दै जति महँगो भए पनि किनेर सबैलाई उपलब्ध गराउने बताएका छन् ।

देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

‘खोप हाम्रो प्राथमिकता हो, ऋण–सापट गरेर जति महँगो भए पनि नेपाली जनतालाई खोप दिने प्रतिवद्धता गरेका छौं’, देउवाले भने, ‘त्यो प्रतिवद्धता पूरा गर्ने विश्वास दिलाउँछु ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल मोटामोटी डेढ वर्ष रहेको भन्दै देउवाले यो अवधिमा देखिने गरी काम गर्ने बताएका छन् ।

Published : Friday, 2021 July 23, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया