बाराका नेताहरू भन्छन्, ‘सभापतिज्यू हामी कांग्रेस हौँ, न्याय चाहियो’

काठमाडौं । नेपाली कांग्रेस बाराका जिल्ला सभापति जयचन्द चौरसियासहितका दुई सयभन्दा धेरै नेताहरूले क्रियाशील सदस्यता वितरणमा भएको विभेदको विरोध गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा धर्ना दिएका छन् ।

शुक्रबार दोस्रो दिनको धर्नामा सभापति चौरसियाका साथै कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फर्मुल्लाह मन्सुर पनि धर्नामा बसेका छन् । धर्नामा बारा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू पनि छन् ।

क्षेत्र नं. १ का सभापति विजयशंकर यादव, २ का सभापति रामप्रवेश यादव, ३ का सभापति मुकेश कुशवाह र ४ का सभापति सुनिल गुप्तासहित २ सयभन्दा धेरै नेताहरू धर्नामा बसेका छन् ।

क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवले क्रियाशील सदस्यता वितरणमा अन्याय भएपछि आफूहरू धर्नामा बसेको जानकारी दिए ।

उनले बाराको कांग्रेसलाई कमजोर बनाउन केही तत्वहरू सक्रिय भएर लागेको बताए । उनले भने, ‘हामी कांग्रेसलाई बलियो बनाउन लागेका छौँ । अवसरवादी केही तत्व कांग्रेसलाई कमजोर बनाउन लागेको छ ।’

‘हामी सबै कांग्रेस हौँ । हामीले पार्टीको विधान र मार्गनिर्देशनलाई अनुशरण गरेर क्रियाशील सदस्यताका लागि निवेदन दिएका छौँ’, क्षेत्रीय सभापति एवम् युवा नेता यादवले भने, ‘हाम्रो मागको सुनुवाई गर्नुभन्दा पनि क्रियाशील सदस्यता रोक्ने कार्य भएपछि न्यायका लागि धर्ना बस्न बाध्य भएको हौँ ।’

उनले आफूहरू सबै कांग्रेस रहेको भन्दै सभापति शेरबहादुर देउवा र केन्द्रीय कार्यसमितिबाट न्याय पाउने आशामा बाराबाट काठमाडौंमा आएर पार्टी कार्यालयमा धर्ना बसेको बताए । यादवले भने, ‘हामी सबै कांग्रेस हौँ । हाम्रो उदेश्य कांग्रेस बलियो बनाउने हो । हामीलाई न्याय चाहियो सभापतिज्यू ।’

बारा जिल्लाबाट दुई सयभन्दा धेरै नेताहरू काठमाडौं आएर बिहीबारदेखि सानेपास्थित पार्टी मुख्यालयमा धर्ना बसेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाकान्त चौधरीले क्रियाशील सदस्यता वितरणमा लफडा गरेका छन् । चौधरीकै कारण बारा जिल्लामा कांग्रेसका कार्यकर्ताले क्रियाशील सदस्यता पाउनबाट बञ्चित हुने अवस्था आएको छ ।

बारा जिल्लाबाट नयाँ र पुराना गरि १२ हजारले क्रियाशील सदस्यताका लागि निवेदन दिएका छन् ।

बारा जिल्लामा ९० प्रतिशत कांग्रेस एकातिर छ । त्यो ९० प्रतिशत कांग्रेसले विधानअनुसार क्रियाशील सदस्यता माग गरिरहेको छ । तर, १० प्रतिशतको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य उमाकान्त चौधरीले केन्द्रमा लफडा गरेर क्रियाशील सदस्यता वितरण गर्न नदिएर रोकेर राखेका छन् ।

बरु आफू मन्त्री बन्न नेताहरूको बिहानै बेलुका ढोका चाहर्दै हिँडेका छन् । विवाद समाधान गर्न चाहेका छैनन् । बारा कांग्रेसका नेताहरूसँग नजर जुधाएर बोल्न सकेका छैनन् । बारामा लफडा गरिरहेका चौधरी केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूह निकटका हुन् ।

बारा जिल्लाको क्रियाशील सदस्यताको समस्या क्रियाशील सदस्यता छानविन समितिमा पुगेको छ । समितिले समस्या समाधान गर्नेभन्दा पनि विवाद झन् बढाएर लैजान खोजेको आरोप छ ।

समितिका संयोजक रमेश लेखकले यो विषयलाई समाधान गर्नुपर्ने बारा कांग्रेसको माग छ । प्रदेश २ मा क्रियाशील सदस्यता वितरणमा विवाद देखियो भने त्यसको विवाद हेर्ने जिम्मेवारी केन्द्रीय सदस्यद्वय आनन्दप्रसाद ढुंगाना र जीवन परियारले पाएका छन् ।

ढुंगाना र परियारले बारा जिल्लाको विवादको पोको अहिलेसम्म खोलेका छैनन् । ढुंगाना र परियार केन्द्रीय सदस्य उमाकान्त चौधरीसँग डराएर थुरुरु भएको चर्चा छ ।

Published : Friday, 2021 July 23, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया